मंसिर २५ कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एक महिनामै दुई लाख २७ हजार १ सय २९ रुपैयाँ राजस्व सङ्कलन भएको छ । चालु आर्थिक वर्षको कात्तिक महिनामा दुई लाख २७ हजार १ सय २९ रुपैयाँ राजस्व सङ्कलन भएको हो । असोज देखि सफारी खुला गरिए पनि पर्यटकहरूको आगमन कात्तिक देखि उल्लेख्य रूपमा बढेपछि राजस्व वृद्धि भएको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी गराएका छन । कात्तिक महिनामा २ सय ५० जना महिला र ३ सय ४८ जना पुरुष गरी कुल ५ सय ९८ जनाले निकुञ्ज क्षेत्रको अवलोकन गरेको उनले जानकारी गराए ।
निकुञ्जले गत आर्थिक वर्ष २०८१–८२ मा तीन हजार ७ सय २२ जना पर्यटकबाट जम्मा १९ लाख ५३ हजार ७ सय ७० रुपैयाँ राजस्व सङ्कलन गरेको उनले जानकारी गराए । वैदेशिक तथा सार्क देशका पर्यटकहरू सहित एक हजार ६ सय महिला र दुई हजार पुरुषले गत आर्थिक बर्षमा निकुञ्ज भ्रमण गरेका थिए । तीमध्ये वैशाख महिनामा सबैभन्दा धेरै ३ सय २४ जना महिला र ४ सय ७६ जना पुरुष गरी आठ सय पर्यटकले अवलोकन गरेको उनले जानकारी गराए । सोही महिनामा तीन लाख रुपैयाँ राजस्व संकलन भएको बताउदै उनले गत आर्थिक वर्षका अन्य महिनाहरूमा पनि उल्लेख्य संख्यामा पर्यटक आएको बताए ।
त्यसैगरी फागुनमा २ सय ११ जना महिला र २ सय ४९ जना पुरुषले निकुञ्ज अवलोकन गरेको जानकारी गराउदै उनले दुई लाख २७ हजार ८ सय १० रुपैयाँ संकलन भएको जानकारी गराए । पौषमा २ सय ३२ जना महिला र ४ जना पुरुषले निकुञ्ज अवलोकन गरेको बताउदै उनले एक लाख ५० हजार ७ सय ९ रुपैया राजश्व संकलन भएको जानकारी गराए । कात्तिकमा ३ सय २६ जना पर्यटक आएको बताउदै उनले एक लाख ६१ हजार ८ सय १५ रुपैया संकलन भएको बताए ।
त्यसैगरी मङ्सिरमा ३ सय ८९ जना पर्यटकले अवलोकन गर्दा एक लाख ८७ हजार ६ सय ११ श्रपैया संकलन भएको जानकारी गराउदै उनले माघमा २ सय ७१ जना पर्यटकले भ्रमण गरेकोमा एक लाख ६१ हजार १ सय २ रुपैया संकलन भएको बताए । चैत्रमा ५ सय २० जना पर्यटकले अवलोकन गर्दा तीन लाख ७९ हजार ७ सय ७० रुपैया संकलन भएको जानकारी गराउदै उनले जेठमा ४ सय २३ जना पर्यटकले निकुञ्ज भ्रमण गर्दा दुई लाख ८४ हजार २ सय ४८ रुपैया संकलन भएको बताए ।
असारमा १ सय ११ जना पर्यटकले निकुञ्ज भ्रमण गरेकोमा ९० हजार ७ सय ५२ रुपैयाँ राजस्व संकलन भएको उनले बताए । निकुञ्जले आन्तरिक पर्यटकबाट एक सय रुपैयाँ, सार्क मुलुकका पर्यटकबाट आठ सय रुपैयाँ र बाह्य मुलुकका पर्यटकबाट एक हजार पाँच सय रुपैयाँ शुल्क लिँदै आएको उनले जानकारी गराए । निकुञ्ज भित्र सवारी साधन प्रयोग गर्दा थप शुल्क लाग्ने व्यवस्था गरिएको उनले बताए ।
बाह्रसिङ्गाका लागि प्रख्यात शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ठूलो झुन्डमा बाह्रसिङ्गा अवलोकन गर्न सकिने भएकाले विभिन्न मुलुकका पर्यटक आकर्षित हुने गरेको निकुञ्जका प्रमुख चन्द्र शेखर चौधरीले बताए । उनका अनुसार यो क्षेत्र विश्वकै सबैभन्दा ठूलो घाँसे मैदान मध्ये एक भएको र यसको जैविक विविधता संरक्षण नै निकुञ्जको मुख्य लक्ष्य रहेको छ । पर्यटकलाई कुनै समस्या परे मार्गमा रहेका चेकपोस्ट मार्फत सहयोग उपलब्ध गराइने व्यवस्था गरिएको उनले जानकारी गराए ।


