मंसिर २३ दार्चुला । वर्षौँदेखि भारतीय बाटो प्रयोग गर्दै आएका दार्चुलाको छाङरु र तिङ्कर क्षेत्रका बासिन्दालाई घोडेटो बाटो सञ्चालन भएपछि सदरमुकाम खलङ्गा आवत जावत गर्न सहज भएको छ ।
करिब २५ वर्षअघि बिग्रिएको घोडेटो बाटो पुनर्निर्माण गरिएपछि दार्चुलाको छाङरु र तिङ्कर क्षेत्रका बासिन्दालाई सदरमुकाम खलङ्गा आवत जावत गर्न सहज भएको हो । बाटो निर्माण हुँदा व्याँस गाउँपालिकाको १ नम्बर वडा तिङ्कर र छाङरूका स्थानीयलाई सहज भएको हो ।
मंसिर पहिलो हप्तादेखि बाटो प्रयोग गरेर स्थानीयले घोडा, खच्चर र च्याङ्ग्रा सहित दार्चुला सदरमुकाम बसाइसराइँ गरेको वडा नम्बर १ का अध्यक्ष अशोक बोहराले जानकारी गराए । संघीय सरकारको बजेटमा बनाइएको उक्त बाटो पूर्ण रूपमा सञ्चालनमा आएको उनले बताए ।
नेपाली सेनाले गत आर्थिक वर्ष २०८१÷८२ मा व्यास गाउँपालिका वडा नम्बर–२ को तम्बाकु क्षेत्रमा ७ सय २० मिटर र चालु वर्ष २०८२÷८३ मा आतुङ्ती–कल्जु क्षेत्रको भिरमा थप तीन मिटर बाटो निर्माण गरेको आयोजनाका प्रमुख, सेनानी राजेश कटुवालले जानकारी गराए ।
दुम्लिङ देखि छाङरु गाउँसम्म घोडेटो बाटोको कुल लम्बाइ २९ किलोमिटर रहेको उनले बताए । बाँकी भाग निर्माण कम्पनी मिसन–देवहरि जेभीले सम्पन्न गरेको उनले बताए ।
संघीय सरकारले गत आर्थिक बर्षमा विनियोजित पाँच करोड ५० लाख रुपैयाँ र व्यास गाउँपालिकाले उपलब्ध गराएको ५० लाख रुपैयाँमा व्यास घोडेटो बाटो निर्माण कार्य पूरा गरिएको निर्माण कम्पनीले जानकारी गराएको छ ।


