मंसिर २३ बाजुरा । बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर–४, रिलामा भाइरल ज्वरोको प्रकोप बढ्दै गएको छ । करिब १ सय ८० घरपरिवारमा ज्वरोका बिरामी भेटिनुका साथै चिसो बढेसँगै संक्रमितहरूको संख्या झनै बढ्दै गएको हो ।
घर–घरमा भाइरल ज्वरो फैलिँदा पाथरकोट आधारभूत विद्यालयमा विद्यार्थीको उपस्थिति उल्लेख्य रूपमा घटेको स्थानीयले बताएका छन । कक्षा ५ मा अध्ययनरत आरती कुमारी परीले केही दिनदेखि रुघाखोकी, टाउको दुखाइ, ज्वरो र उल्टी हुने गरेको बताईन ।
बिरामी भए पनि पढाइ छुट्ने डरले विद्यालय आउँदा कक्षामा बस्न समेत कठिनाइ हुने गरेको आरतीले बताइन् । गाउँमा पछिल्लो एक महिना देखि धेरैजना बिरामी हुँदै आएको उनले बताईन । यसले विद्यार्थीहरूको कक्षा उपस्थितिमा असर पारेको पाथरकोट आधारभूत विद्यालयका शिक्षक कमल नाथले जानकारी दिए ।
विद्यालयमा ९३ जना विद्यार्थी भए पनि अहिले अधिकांश कक्षाकोठा खाली जस्तै भएको उनले बताए । बालबालिकामा पनि खोकी, ज्वरो, वाकवाकी जस्ता लक्षण बढ्दै गएको उनले बताए ।
हिउँद सुरु भएसँगै गाउँमा रुघाखोकी र भाइरल संक्रमण बढÞिरहेको र दैनिक पाँचदेखि सात जना बिरामी उपचारका लागि आउने गरेको रिला सहरी स्वास्थ्य केन्द्रका प्रमुख मीनबहादुर थापाले बताए । आवश्यक औषधि दिएपछि केही बिरामीको अवस्था सुधार हुँदै गएको उनले बताए ।


