मंसिर १८ धनगढी । कैलाली जिल्लाको विकट पहाडी क्षेत्र मोहन्याल गाउँपालिकामा बन्न लागेको १० श्ययाको अस्पताल भवन निर्माणमा ढिलाइ भएको छ । चालु आर्थिक वर्षमा सङ्घीय सरकारले अस्पताल निर्माणका लागि पर्याप्त बजेट नपठाउँदा बजेट अभावमा अस्पताल भवन निर्माणमा ढिलाइ भएको हो ।
निर्माण कम्पनीलाई ३५ लाख भुक्तानी दिन बाँकी रहेको वडा अध्यक्ष देविदत्त पाध्याले बताए । भवनको भौतिक प्रगति ७० प्रतिशत मात्र भएको बताउदै उनले पालिकामा अस्पताल नहुँदा सर्वसाधारणलाई सामान्य उपचारका लागि लम्की, धनगढी र नेपालगञ्ज धाउनु पर्ने बाध्यता रहेको बताए ।
प्रत्येक पालिकामा १० श्ययाको अस्पताल बनाउने सरकारको कार्यक्रम अनुसार उक्त भवन निर्माण प्रारम्भ भएको उनले बताए । त्यसैगरी, कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर–१० चुहामा निर्माणाधीन ५० श्ययाको सामुदायिक अस्पताल भवन पनि अलपत्र परेको छ । निर्माण कम्पनीले भुक्तानी नपाएपछि काम रोकिदा भवन अलपत्र परेको हो । दुई वर्षदेखि रोकिएको काम पुनः प्रारम्भ गर्न सम्बन्धित निकाय अग्रसर नहुँदा स्थानीय चिन्तित भएका छन ।

