मंसिर १६ धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश सरकार आगामी निर्वाचनका लागि आवश्यक वातावरण निर्माणमा पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन । नेपाल सरकार, गृह मन्त्रालय तथा सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले निर्वाचनका लागि आवश्यक वातावरण निर्माणमा पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका हुन ।
संघीय सरकारसँग सहकार्य गर्दै काम गर्न प्रदेश सरकार सधैं तत्पर रहेको बताउदै मुख्यमन्त्री शाहले नेपाल प्रहरीलाई साधन–स्रोत सम्पन्न र मनोबल उच्च बनाउन प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताए । सुरक्षा निकायलाई अझ सक्षम र प्रभावकारी बनाउने तर्फ सरकार लाग्नु पर्ने उनले बताए । संघीय सरकारले प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन गर्दा तीनै तहबीचको समन्वय र सहकार्य अझ प्रभावकारी हुने उनले बताए ।
भाद्र २३ र २४ गतेका आन्दोलनका विषयमा बोल्दै शाहले, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न प्रदेश सरकार कटिबद्ध रहेको बताए । भ्रष्टाचारविरुद्ध कानून ल्याउँदा सोहि दलका व्यक्तिहरू बढी समय कस्टडीमा बस्नुपरेको उदाहरण दिंदै, उनले भ्रष्टाचार हुने क्षेत्र पहिचान गरी कडाइका साथ सुधार प्रक्रिया अघि बढाउनु पर्ने बताए । साथै उनले २०४६ र २०६३ पछि देशमा धेरै सकारात्मक परिवर्तन भएको र नकारात्मक पक्ष मात्र टिप्पणी गर्नु अनुचित भएको बताउदै उनले उपलब्धिपूर्ण कामहरूको मूल्याङ्कन गर्न सबै सरोकारवालालाई आग्रह गरे । मुख्यमन्त्री शाहले मुलुकलाइ चुनावी माहोलमा लैजाने क्रममा जनताको इच्छा, आकांक्षा र विश्वासलाई केन्द्रमा राख्नु पर्ने बताए ।

