कार्तिक २२ कञ्चनपुर । बादी समुदायको मादल बनाउने पुख्र्यौली पेशाबाट गुजारा चलाउन सकस हुने गरेको छ । कुनै समयमा मादल र दमाहा बनाएर जीवन निर्बाह गर्दै आएका बादी समुदायलाई अहिले मादल बनाउने पुख्र्यौली पेशाबाट गुजारा चलाउन सकस हुने गरेको हो ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर–३ बडुवाल टोलका रेशम वादीले मादल बनाउने पुख्र्यौली पेशाबाट जीवन गुजारा गर्न सकस हुने गरेको बताए । पहिले मादल बनाएर आफैं गाउँ–गाउँ डुलेर बिक्री गर्ने गरेको स्मरण गर्दै उनले घरमै पनि किन्नका लागि ग्राहक आउने गरेको र त्यसैबाट घर–परिवारको खर्च राम्रैसंग चल्ने ग रेको भए पनि अहिले मादल र दमाहाको विगत जस्तो माग नभएकाले समस्या भएको बताए ।
बनाएका सामान विक्री नभएर थन्काएर राख्नु परेको उनले बताए । पुख्र्यौली पेशा मादल बनाउने बेच्ने भए पनि अहिले गुजारा चलाउन सकस हुने गरेको बताउदै उनले बुवा–बाजेले यसै पेशाबाट परिवार पालेका भए पनि अहिले नसकिने अबश्था आएको बताए । होली र तिहारका बेला मादलको माग निकै बढी हुने गरेको स्मरण गर्दे उनले दुई–तीन महिना देखि पुरै परिवार मादल बनाउनमै व्यस्त हुने गरेको विगत सुनाए ।
अहिले माग नभएकाले परिवार पाल्न समस्या भएको बताए । नौ जनाको परिवार भएको बताउदै उनले छोराहरू कामको खोजीमा भारततीर पसेको बताए । श्रीमती सीतादेवी र आफु दुवै जनाले अहिले पनि मादल र दमाहा बनाउने गरेको उनले बताए । त्यसका लागि चाहिने छाला देखि अन्य सामग्री जुटाउने र घरमै दुवै जना मिलेर मादल र दमाहा बनाउँने गरेको उनले सुनाए ।
अहिले जुत्ता–चप्पल सिउने काम पनि गर्न थालेको बताउदै रेशमले त्यसबाट नुन–तेलको खर्च चलेको बताए । जमिनका नाममा घरेडी मात्रै भएको बताउदै उनले खाद्यान्न देखि नुन, तेल, साग–तरकारी सबै किनेरै खानुपर्ने बताए । त्यसैले छोराहरू पुख्र्यौली पेशा छाडेर भारततिर पसेको उनले बताए ।
दोधारा चाँदनी नगरपालिका वडा नम्बर–३ बडुवाल टोलकै वीरभान वादीले पुख्र्यौली पेशाबाटै गुजारा चल्न नसक्ने बताउदै खेतीपाती गर्न जमिन नभएको र अरू काम गर्न सीप पनि नभएकाले गुजारा गर्न समस्या भएको बताए । चार घर परिवार वादीको बसोबास रहेको चारै परिवारका युवाहरू सानैमा स्कुल छाडेर कामको खोजीमा भारत पसेको उनले बताए ।
खान–लाउनै समस्या भएको अबश्थामा पढाउन सकिने अवस्था नभएको बताउदै उनले दुई–चार कक्षा सम्म पढ्ेपछि काम खोज्दै भारत जाने गरेको बताए । कतिपय परिवार सहित भारत गएको बताउदै उनले उनीहरू चाँडपर्वका बेला मात्रै फर्किने गरेको बताए । वादी परिवारलाई सीपमूलक तालिम दिई आय–आर्जनका लागि सहयोग गरिनु पर्ने उनले बताए ।

