कार्तिक १७ दार्चुला । नेपालको नक्सामा कायम गरिएको दार्चुलाको उत्तर–पश्चिमी क्षेत्रमा रहेको अतिक्रमीत भूमी लिपुलेकमा भारतले अल्ट्रा–म्याराथनको आयोजना गरेको छ । आइतवार भारतका सात सय जना धावकहरुको सहभागीतामा अतिक्रमीत भूमी लिपुलेकमा भारतले अल्ट्रा–म्याराथनको आयोजना गरेको हो ।
उच्चहिमाली क्षेत्रमा अल्ट्रा–म्याराथनको आयोजना गर्दै भारतका २२ वटा राज्य र केही विदेशी समेत गरी सात सय भन्दा बढी सहभागीहरूले भाग लिएर नयाँ रेकर्ड कायम गरिएको बताईएको छ ।
भारतको उत्तराखण्ड राज्य स्थापनाको २५ औं वर्षिकोत्सवमा पन्ध्र हजार फिटको उचाइमा सरकारले अल्ट्रा म्याराथनको आयोजना गरेको इन्डो तिब्बतियन बोर्डर पुलिस (आइटिबिपी)का महानिरीक्षक (आइजी) सञ्जय गुञ्ज्यालले जानकारी दिएका छन् ।
धार्मिक तथा साँस्कृतिक महत्वको ओम पर्वतलाइ परिक्रमा गर्नेगरी ६० किलोमिटरको अल्ट्रा म्याराथनको आयोजना गरिएको हो । उक्त कार्यक्रममा भारत सरकारका सडक परिवहन राज्यमन्त्री अजय टमटा प्रमुख अतिथिका रुपमा सहभागी थिए ।
गुन्जीमा आयोजना गरिएको एक कार्यक्रममा मन्त्री टमटाले यसलाई जाडो सिजनको पर्यटनका लागि भारत सरकारको सपना साकार पार्ने प्रयास भएको बताएका छन् । पछिल्ला १० वर्षमा यो क्षेत्रमा सडकको कनेक्टिभिटी गाउँ–गाउँमा पु¥याएको बताउदै उनले सडकको स्तरोन्नती गर्दे सुविधाहरु थप्दै लगेको बताए ।
जोलिङकङमा बिएसएनलको नेटवर्क समेत बिस्तार गरिएको बताउदै टमटाले पर्यटनका लागि पूर्वाधारहरु तयार रहेको र सुविधाहरु थपिदै गएको सन्देश दिएका छन् । माइनस १९ डिग्री तापक्रममा भारतीय सेना र आइटिबिपीले पर्यटनका लागि सम्पूर्ण तयारी गरेको र उपयुक्त वातावरण निर्माण गरिरहेको बताइएको छ ।
यो क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि ’आदी कैलास परिक्रमा रन’ कार्यक्रम आयोजना गरिएको उनीहरुले बताएका छन् । आइटिबिपीका महानिरीक्षक गुन्ज्यालले ‘साँस्कृतिक तथा आध्यात्मिक क्षेत्रको प्रवद्र्धनको यो सुरुवात भएको र अन्य इभेन्टहरुको ढोका खुलेको बताए ।
भारतको मुम्बइबाट पहिलोचोटी आएकी एक जना महिला धावकले आफू १० किलोमिटर दौडिन आएको र यो सबै भन्दा उपयुक्त लोकेसन रहेको बताइन् । साथै आयोजकको व्यवस्थापन र स्वागतले आफूलाई लोभ्याएको उनले बताईन ।
कल्पनै नगरिएको, स्रोत साधनको कमि भएको क्षेत्रमा यो स्तरको कार्यक्रम गरिनु असल भएको उनले बताए । त्यसैगरी मध्य प्रदेशबाट आएका राजेश पोरवालले ६० किलोमिटरको अल्ट्रा रनिङमा सहभागी भएको बताए ।
६० बर्ष माथिको उमेर समूहमा दौडिएका उनले दक्षिण अफ्रिका र मलेसियामा म्याराथनको अनुभव रहेको बताउँदै आफू २००७ मा कैलास मानसरोवर जान आएको बेलाको भन्दा अहिले धेरै पूर्वाधार बनिसकेको बताए । उनले पर्यटनको ठूलो सम्भावना बोकेको क्षेत्र रहेको दाबी गरे ।
भारतका विभिन्न क्षेत्रबाट आएका धावकहरुले ५ किमि देखि ६० किमि सम्मको दुरीको दौडमा सहभागीता जनाएका छन् । उनीहरुका लागि गुञ्जी, नाबी लगायतका गाउँ र आर्मी क्याम्पमा बन्दोवस्तीको व्यवस्थापन गरिएको छ । सहभागीहरुका लागि नाबीगाउँमा साँस्कृतिक कार्यक्रम तथा सहभोज कार्यक्रमको आयोजना गरिएको थियो ।
उत्तराखण्डको पौराणिक र आध्यात्मिक सम्पदा स्थल आदि कैलाश क्षेत्रमा अल्ट्रा–म्याराथन आयोजनाले यस क्षेत्रको पर्यटनलाई एक्सपोज गर्ने आयोजकको दाबी छ । उच्च भूभाग, कठिन मौसम र चुनौतीपूर्ण हिमालयन क्षेत्रको म्याराथनले सहभागीहरूले उल्लेखनीय साहस र फिटनेस प्रदर्शन गर्ने मौका पाएको उनीहरुले बताएका छन ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले आदि कैलाश क्षेत्रमा पहिलो हाइ अल्टिच्युडको अल्ट्रा–रन सञ्चालनमा सहभागीहरू, आयोजकहरू र स्थानीय नागरिकहरूलाई बधाई दिँदै उत्तराखण्डको लागि गर्वको क्षण भएको बताए ।
आदि कैलाशको आध्यात्मिक तीर्थस्थलमा आयोजित ऐतिहासिक अल्ट्रा दौडले साहस र समर्पणको उदाहरण मात्र होइन, सीमावर्ती क्षेत्रमा साहसिक पर्यटन र खेलकुद संस्कृतिलाई पनि नयाँ दिशा दिने उनले बताए ।
मुख्यमन्त्री धामीले सीमावर्ती क्षेत्रको विकास आफ्नो प्राथमिकता भएको बताए । पिथौरागढ जिल्लाका जिल्ला मजिस्ट्रेट(डिएम) आशिषकुमार भटगानी, धारचुलाका एसडिएम जितेन्द्र बर्मा लगायतका अधिकारी समेत त्यहाँ पुगेका थिए । त्यसैगरी उच्चहिमाली क्षेत्रमा ६० किलोमिटरको दुरी ४ घण्टा ४४ मिनेटमा पार गर्दै दिगम्बर सिंहले दौड जितेका छन् ।
महिलातर्फ पौडी गडवालकी मिनाक्षी नेगीले ५ घण्टा ४३ मिनेटमा ६० किलोमिटर पूरा गरिन । दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले लिपुलेक क्षेत्रमा आयोजना भएको कार्यक्रम बारे औपचारिक रुपमा कुनै जानकारी नभएको बताए ।
उक्त कार्यक्रमका लागि नेपाली पक्षसँग कुनै समन्वय नभएको उनले बताए । अनौपचारिक रुपमा थाहा भए अनुसार भारतको पर्यटन विभागले म्याराथन आयोजना गरेको र त्यसको तयारी भइरहेको सूचना केही दिन अघि नै थाहा भएको पौडेलले बताए ।
औपचारिक जानकारी नभएको बताउदै उनले कार्यक्रमबारे अनौपचारिक रुपमा सूचना पाएको बताए । दस, बाह्र दिन अघि देखि तयारी भइरहेको भए पनि कुनै समन्वय नगरिएको उनले बताए ।

