कार्तिक १७ धनगढी । कैलाली र कञ्चनपुरबाट लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतवार कैलालीको टीकापुर नगरपालिका वडा नम्बर–९ खक्रौला भन्सार चेकपोस्ट नजिकबाट लम्कीचुहा नगरपालिका वडा नम्बर–१ घुरवाका २२ वर्षीय कलम जैसी र सोही दिन साँझ भारतबाट नेपाल तर्फ पैदल आइरहेका कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर–६ चांददेउका २१ वर्षीय पुर्णबहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
जैसीको साथबाट २ ग्राम ६ सय ५० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
उनलाई प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको बताईएको छ ।
त्यसैगरी बेलौरी नगरपालिका वडा नमबर–१० सडकघाटबाट पक्राउ गरिएका चौधरीको साथबाट १ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनलाई इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको बताईएको छ । दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

