असोज २७ कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर–५ देखतभूलीस्थित स्वास्थ्य चौकीमा चौबीस घण्टे बर्थिङ सेन्टर सञ्चालनमा आएपछि घरमै सुत्केरी हुने महिलाको सङ्ख्या सुन्य भएको छ ।
सुरक्षित सुत्केरीका लागि महिलाहरू बर्थिङ सेन्टर पुग्न थालेपछि घरमै सुत्केरी हुने महिलाको सङ्ख्या सुन्य भएको हो ।
स्वास्थ्य चौकीका प्रमुख लीलाकान्त झाले दुर्गम र सीमावर्ती क्षेत्रका गर्भवती महिलाहरूले नजिकै सुरक्षित र निःशुल्क सेवा पाउँदै आएको बताए ।
चाडपर्वमा पनि सेवा अवरुद्ध नहुने गरी स्वास्थ्यकर्मीलाई पालैपालो खटाइएको उनले बताए । चालु आर्थिक वर्षको हालसम्म १ सय ३० जना भन्दा बढी महिलाले सुरक्षित प्रसूति सेवा लिइसकेको उनले जानकारी गराए ।
उक्त क्षेत्रमा मातृ तथा शिशु मृत्यु दर सुन्य रहेको उनले बताए । स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय भद्रभलादमीको अथक प्रयासले घरमै सुत्केरी हुने चलन समाप्त भएको प्रमुख झाले बताए ।
उनले यसबाट सुरक्षित मातृत्वका साथै नवजात शिशुको स्वास्थ्य सुधारमा सकारात्मक प्रभाव परेको बताए ।


