भदौ ३० धनगढी । कम्प्युटर एसोसिएसन नेपाल, कैलाली शाखाले कैलालीका विभिन्न सरकारी कार्यालयहरूलाई कम्प्युटर सामग्री सहयोग गरेको छ ।
सहयोग सामग्री उपलब्ध गराउन मालिका कम्प्युटर, क्याम्पस रोड, उग्रतारा कम्प्युटर, रातोपुल, गड्तोला कम्प्युटर, अत्तरिया र धनगढी, संस्कारिका कम्प्युटर, सहिदगेट, एस कम्प्युटर, रातोपुल, दिपेश इन्फोसिस, मेन रोड, इन्टेल कम्प्युटर, मेन रोड, माइक्रोटेक प्रिन्टिङ हाउस, एलएन चोक, एडमिन कम्प्युटर, क्याम्पस रोड, देवी भगवती कम्प्युटर तालिम,लालपुर, एनएस इन्फोसिस,चौराहा लगायतले सामग्री सहयोग गरेका हुन् ।
सहयोग जुटाउन व्यवसायीहरू राजेन्द्र बिष्ट, ईन्द्र साउँद र आदित्य कम्प्युटरका गुरु दाहालले कम्प्युटर व्यवसायीहरूसँग समन्वय गरेका थिए । एसोसिएसनका तर्फबाट जिल्ला प्रशासन कार्यालय, कैलालीलाई दुई÷दुई थान कम्प्युटर र मोनिटर प्रदान गरिएको छ ।
त्यसैगरी दुई थान, इप्सन प्रिन्टर, इप्सनकै नागरिकता प्रिन्टर एक थान, इन्भर्टर ब्याट्री दुई थान र इन्भर्टर एक थान प्रदान गरिएको व्यवसायी वीरेन्द्रप्रसाद भट्टराईले बताए । त्यसैगरी कैलाली जिल्ला अदालतलाई कम्प्युटर एक थान, स्क्यानर एक थान र प्रिन्टर एक थान हस्तान्तरण गरिएको उनले बताए ।
जिल्ला सरकारी वकिलको कार्यालयलाई कम्प्युटर एक थान र क्यानन प्रिन्टर एक थान सहयोग गरिएको बताउदै भट्टराईले कैलाली जिल्ला कारागारलाई ४३ इन्च स्मार्ट टिभी एक थान र पेन्टम फोटोकपी एक थान उपलब्ध गराएको बताए ।
कम्प्युटर एसोसिएसन कैलाली शाखाले आगामी दिनमा पनि सूचना प्रविधि क्षेत्रको विकास र सरकारी सेवाको प्रभावकारिताका लागि यस्तै सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ । त्यसैगरी धनगढी उपमहानगरपालीका वडा नम्बर–४, चटकपुरस्थित आलोक मल्टी कन्सर्न प्रालिले सहयोगी हात अघि बढाएको छ ।
यसअघि आगलागीबाट ठूलो क्षति बेहोरेको अनुभव सुनाउँदै कम्पनीले जनसमुदाय, व्यवसायी तथा उद्योग–व्यवसाय संघ सहित विभिन्न पक्षबाट प्राप्त सहयोगका कारण पुनः सञ्चालनमा फर्कन सफल भएको स्मरण गरेको छ ।
यही सहयोगी भावनाको कदर गर्दै यसपटक कम्पनीले सुदूरपश्चिम भरिका सरकारी कार्यालयलाई सहज सञ्चालनका लागि आवश्यक फर्निचर उपलब्ध गराउने निर्णय गरेको छ ।
कम्पनीले आगलागी वा क्षति भएका तर सम्पर्कमा आउन नसकेका कार्यालयलाई पनि यसै सूचनाको आधारमा सम्पर्क गर्न आग्रह गरेको छ ।
समाज, समुदाय र राष्ट्रिय हितका कार्यमा निरन्तर सहयोग र सहकार्य गर्ने अठोटलाई निरन्तरता दिँदै आगामी दिनमा पनि सहकार्यका कार्यक्रमलाई अघि बढाइने कम्पनीले जनाएको छ ।


