भदौ ०५ धनगढी । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गेटा अस्पतालको इमर्जेन्सी सेवाको उद्घाटन गरेका छन् । मन्त्री पौडेलले विरोधका बिच बिहीबार अस्पतालमा इमर्जेन्सी सेवाको उद्घाटन गरेका हुन ।
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तरगत रहने अस्पतालको इमर्जेन्सी सेवाको उद्घाटनमा बोल्दै मन्त्री पौडेलले २० शय्याको इमर्जेन्सी सेवा सञ्चालन हुनु ठुलो कुरा भएको बताए ।
उनले आफ्नो कार्यकालमा इमर्जेन्सी सेवा सुरु भएकाले त्यसको उद्घाटन गर्ने कुरालाई विवादित बनाउन आवश्यक नरहेको बताए । उनले गेटा अस्पतालमा पर्याप्त इक्युवमेन्ट भए पनि अझै ५० प्रतिशत थन्किएको बताउँदै ती सबै सञ्चालनमा ल्याउन जनशक्ति थप गर्न आवश्यक रहेको बताए ।
उनले अघिल्लो आर्थिक वर्षमै ३ सय बेडको अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति विवरण अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पठाइसकेकाले यसै वर्ष भित्र थन्किएका सामाग्री प्रयोगमा आउने बताए ।
उनले गेटा अस्पताललाई पहिलो प्राथमिकतामा राखेको बताउँदै चालु आर्थिक वर्ष भित्र अस्पताललाई ३ सय शय्याको विस्तार गरेर आगामी शैक्षिक सत्र देखि एमबिबिएस पठाई सुचारु गरिने बताए ।
मन्त्री पौडेलले इमर्जेन्सी सेवाको उद्घाटन गरिरहँदा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिले भने मूल गेटमा विरोध जारी राखेका थिए ।
सङ्घर्ष समितिका संयोजक लोक राज पाण्डे आगोले अघिल्लो पटक आउँदा मन्त्री पौडेलले ३ सय शय्याको अस्पताल चलाउने बाचा गरे पनि अहिले आउँदा आफैले बोलेको कुरा पुरा नगरी इमर्जेन्सी सेवाको मात्रै उद्घाटन गरेपछि विरोध गरिएको बताए ।
उनले विरोधका बिच मन्त्री पौडेलले ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरेर उद्घाटन गरेको बताए । उनले ३ सय शय्याको अस्पताल उद्घाटन गर्नु पर्नेमा इमर्जेन्सी सेवाको उद्घाटन गरेर सुदूरपश्चिम जनताको अपमान गरेको बताए ।
गेटामा बुधवार दिउँसो नै इमर्जेन्सी सेवाको उद्घाटन गर्ने कार्यक्रम रहे पनि विरोध पछि स्थगित गरिएको थियो । त्यसपछि उद्घाटन कार्यक्रम स्थगित गरिएको अस्पताल प्रशासनले बताए पनि पुनः कार्यक्रम तय गरेर उद्घाटन गरिएको हो ।


