भदौ ०४ कञ्चनपुर । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले गत आर्थिक वर्षमा तीन हजार नौ सय मिटर सिचाँइ कुलो निर्माण गरेको छ ।
कार्यालयले जिल्लामा ठेक्का र उपभोक्ता समिति मार्फत तीन हजार नौ सय मिटरकुलो निर्माण गरेका हो ।
डिभिजन प्रमुख महादेव विष्टले ठेक्का मार्फत शुक्लाफाँटा नगरपालिका वडा नम्बर–८ र बेदकोट नगरपालिका वडा नम्बर–७ र ८ मा दुई हजार आठ सय ७५ मिटर कुलो निर्माण गरेको जानकारी गराए ।
त्यसैगरी उपभोक्ता समिति मार्फत एक हजार २७ मिटर कुलो निर्माण गरिएको जानकारी गराउदै उनले गत आर्थिक बर्षमा सम्पन्न कुलोबाट ७५ हेक्टर खेतीयोग्य जग्गामा सिँचाइ सुविधा उपलब्ध भएको बताए ।
२ सय ८७ मिटरमा मुहान संरक्षण र तीन वटा पोखरी निर्माण गरिएको बताउदै प्रमुख विष्टले तटबन्ध मार्फत आठ हेक्टर जग्गा संरक्षण गरिएको बताए । उनले एक हजार १ सय २४ मिटर ठेक्का र चार हजार ८ सय ६८ मिटर तटबन्ध उपभोक्ता समिति मार्फत निर्माण गरिएको जानकारी गराए ।
चौधर र पथरीया नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गरेको बताउदै उनले गत आर्थिक बर्षमा कार्यालयले सिँचाइ संरचना र तटबन्ध निर्माणमा ९५ प्रतिशत भौतिक प्रगति गरेको बताए ।
तटबन्ध तथा बाँध निर्माणमा १२ करोड १४ लाख ८२ हजार खर्च भएको जानकारी गराउदै उनले सिँचाइ संरचना निर्माणमा दुई करोड ६३ लाख २० हजार खर्च भएको जानकारी गराए ।

