भदौ ०४ धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–८ मा रहेको सृजनशिल महिला विकास बहुउद्देश्यिय सहकारी संस्था लि. को कृषि उपज संकलन केन्द्रको उद्घाटन गरिएको छ ।
मंगलबार औपचारिक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बमले कृषि उपज संकलन केन्द्रको उदघाटन गरेका हुन ।
सहकारीकी अध्यक्ष भावना खड्काको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि बमले सानै भएपनि सहकारीको संकलन केन्द्र स्थापनाका लागि बजेट विनियोजन गर्न सफल भएको बताए ।
अधुरो संरचनालाई पूर्र्णता दिने या अन्य केही सहयोग गर्ने कुरामा आफू कटिबद्ध रहेको उनले बताए । कृषि उपज संकलन केन्द्रको माथिल्लो तला र सभाहल निर्माणका लागि पहल गर्ने बताउदै उनले सके दुई ओटै नभए सहकारीका सदस्यहरुको चाहना बमोजिम कुनै एउटा माग पुरा गर्ने प्रतिबद्धता जाहेर गरे ।
राज्यमन्त्री बमले चालु आर्थिक वर्षमा सहकारीमा लगानी नगर्ने प्रदेश सरकारले निर्णय गरेकाले यसपटक सहयोग गर्न नसकेको बताउदै आगामी बजेटमा सहयोग गर्ने बताए ।
सहकारीका माध्यमबाट महिलाहरुले व्यवसायीक हुने अवसर पाएको बताउदै उनले सानो प्रयासबाट सुरु भएका सहकारीहरुले ठुलो प्रगती गरेको बताए । सृजनशिल सहकारीले पनि उचाई छुन सक्ने आफूले विश्वास लिएको बताउदै उनले त्यसका लागि सहकारीमा आवद्ध सबैको सहकार्य र एकता जरुरी रहेको बताए ।
त्यति मात्रै नभई उनले सहकारीमा आवद्ध शेयरसदस्य तथा पदाधिकारीहरुले सहकारी प्रति इमान्दारीता देखाउन अति आवश्यक रहेको बताए । त्यसैगरी प्रदेश सांसद तुलसी देवकोटाले सहकारीलाई प्रविधि र उत्पादनसँग जोडेर लैजान आवश्यक रहेको बताईन ।
कार्यक्रमकी विशिष्ठ अतिथि समेत रहेकी उनले सहकारीमा आवद्ध महिलाहरुले व्यवसायी बन्न सके आत्मनिर्भर बन्न सहज हुने बताईन । सहकारीले महिलाहरुलाई उद्यम सिकाएर उद्यमी बनाई उद्यम पनि सञ्चालनमा गरीरहेको बताउदै उनले सहकारी मार्फत सबै दिदीबहिनीहरुले कृषि उपजहरु उत्पादन गर्ने र बिक्रि गर्ने गरे स्वतः आत्मनिर्भर बन्न सकिने बताईन ।
उनले विगतमा महिला विकासका विषयमा नकारात्मक टिकाटीप्पणी हुने गरेकोमा अहिले सहकारी मार्फत महिलाहरु एकजुट र आत्मनिर्भर बनिरहेको देख्दा खुसी लागेको बताईन ।
आर्थिक मामिला राज्यमन्त्री बमको सक्रियता र पहलमा कृषि ज्ञान केन्द्र कैलालीबाट विनियोजन भएको १५ लाख रुपैया बजेटमा उक्त संकलन केन्द्र भवन निर्माण गरिएको संस्थाकी अध्यक्ष भावना खड्काले बताईन ।
विगतमा आफूहरुले कृषि जन्य वस्तुहरु संकलन गर्ने भवन नहुँदा समस्या हुने गरेको बताउदै उनले अब सहज हुने बताईन । संकलन केन्द्र आवश्यक छ भनेर माननिय आर्थिक मामिला राज्यमन्त्री बमलाई अनुरोध गरेको बताउदै उनले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको बताईन ।
राज्य मन्त्री बमकै कारण आज संकलन केन्द्र भवन पाएको उनले बताईन । राज्य मन्त्री बमलार्ई धन्यवाद दिदै उनले भवनमा संस्थाले उत्पादन गरेको कृषिजन्य वस्तुहरु मात्रै नभई सदस्यहरुले उत्पादन गरेका वस्तुहरु पनि खरिद गरेर राख्न सकिने बताईन ।
त्यसैगरी संस्थाले सहकारी शिक्षा तथा तीज विशेष कार्यक्रम पनि आयोजना गरेको छ । संस्थाको कृषि उपज संकलन केन्द्र भवनको उद्घाटन समारोहकै अवसरमा सहकारी शिक्षा तथा तीज विशेष कार्यक्रम आयोजना गरिएको हो ।
संस्थाकी व्यवस्थापक गौरी चौधरीले महिलाहरुलाई एक ठाउँमा भेला गराएर तीज विशेष कार्यक्रमका साथै सहकारी शिक्षा सम्बन्धी समेत जानकारी दिएको बताईन ।
उनले नजिकिदै गरेको महिलाहरुको महान पर्व हरितालिका तीजका अवसरमा शेयर सदस्यहरुका लागि कार्यक्रम आयोजना गरिएको बताईन ।
कार्यक्रममा सहकारीका विभिन्न विषय वस्तुहरुका बारेमा जानकारी दिईएको उनले बताईन ।


