भदौ ०४ धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिकाले मुक्त कमैयाहरूको समस्या समाधानका लागी मुक्त कमैया, हलिया तथा कमलरी पुनस्र्थापना कार्यविधि बनाउने भएको छ । गाउँपालिकाले मुक्त कमैयाहरूको समस्या समाधानका लागी मुक्त कमैया,हलिया तथा कमलरी पुनस्र्थापना कार्यविधि बनाउने भएको हो ।
मङ्गलवार गाउँपालिकाले मुक्त कमैया समाजसँग छलफल गरी मस्यौदा समिति समेत गठन गरेको छ । पालीकाले वडा नम्बर १ का वडा अध्यक्ष एवम् पालिकाका सामाजिक विकास संयोजक मिथुन गौतमको संयोजकत्वमा ५ सदस्यीय मस्यौदा समिति गठन गरेको हो । समितिमा गाउँपालिकाका कानुन अधिकृत तपेन्द्र न्यौपाने सदस्य सचिव रहेका छन ।
त्यसैगरी सदस्यहरूमा मुक्त कमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरी, मुक्त कमैया समाजका सुदूरपश्चिम प्रदेश अध्यक्ष चन्द्रप्रसाद चौधरी र पूर्व कमलरी फुलकुमारी कठरिया रहेका छन् । समितिले सरोकारवालाहरूसँग विभिन्न चरणमा छलफल गरी कार्यविधिको मस्यौदा तयार गर्ने बताइएको छ ।
तयार मस्यौदालाई समितिले दफावार छलफलका लागि कार्यपालिकामा पठाउने छ भने छलफल पश्चात् कार्यपालिकाले कार्यविधि स्वीकृत गर्ने बताईएको छ । कार्यविधि निर्माण भए बर्दगोरियामा रहेका मुक्त कमैयाहरूको समस्या समाधान गर्न सहज हुने गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले बताए ।
मुक्त कमैयाहरूका लागी आवास निर्माण, निःशुल्क शिक्षा, विभिन्न सीपमूलक तालिम तथा सरकारी अनुदान लगायतका कार्यहरू सञ्चालन गर्न कार्यविधिले सहजता ल्याउने उनले बताए ।
सेवा सुविधा पाउन मुक्त कमैयाको पहिचान हुनु पर्ने बताउदै उनले त्यो पहिचान भनेको परिचयपत्र भएको बताए । पालिकामा बसोबास गर्ने करिब १ हजार ५ सय मुक्त कमैयाका घरपरिवार मध्ये करिब ३ सय घरपरिवारसँग अझै पनि परिचयपत्र नभएको उनले बताए ।
परिचयपत्र नभई सरकारले सेवा सुविधा दिन नमिल्ने बताउदै उनले कार्यविधि नहुँदा मुक्त कमैया पहिचान गर्न पनि समस्या भएको बताए । मुक्त कमैया समाज सँग सहकार्य गरेर काम अघि बढाएको बताउदै अध्यक्ष कुँवरले कार्यविधि निर्माणमा मुक्त कमैया पहिचानको सवाललाई गम्भीर रूपमा उठाउने बताए ।
त्यसैगरी मस्यौदा समिति संयोजक मिथुन गौतमले मुक्त कमैयाहरूले परिचय पत्र नपाएकै कारण सेवाबाट वञ्चित हुनु परेकाले कार्यविधिमा सबैभन्दा बढी मुक्त कमैया पहिचानका आधारहरू तय गरिने बताए ।
पहिचानसँगै मुक्त कमैयाको जीविकोपार्जन सवाल, सीपमूलक तालिम तथा अनुदानको सवाल, सुरक्षित आवास निर्माणका सवालहरू पनि कार्यविधिको प्राथमिकतामा पर्ने उनले बताए ।
बर्दगोरियाको वडा नम्बर ३ र ४ मा सबैभन्दा बढी मुक्त कमैयाहरूको बसोबास रहेको बताउदै उनले परिचय पत्र नपाउने समस्या वडा नम्बर ३ मा सबैभन्दा बढी भएको बताए ।
स्थानीय सरकारले कार्यविधि निर्माण गरे पश्चात् मुक्त कमैयाको पहिचानसँगै राज्यको सेवा सुविधामा पनि उनीहरूको पहुँच बढ्ने र जीवनयापन गर्न सहज हुने अपेक्षा गरिएको उनले बताए ।


