भदौ ०३ बैतडी । बैतडीमा सिमेन्ट उद्योग खोल्न सडक विभागसँग राय माग गरिएको छ । महाकाली लोकमार्गसँग जोडिएको खानी उत्खनन गर्दा सडकलाई असर गर्ने वा नगर्ने विषयमा सडक विभागसँग राय माग गरिएको हो ।
आइएमई समूहले दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकाको धर्मघर देखि सुपलेको लेकसम्म १० वर्गकिलोमिटर क्षेत्रफल सम्म खोजतलासको लाइसेन्स प्राप्त गरेको छ ।
उत्खनन हुने खानी महाकाली लोकमार्गबाट पाँच सय मिटर टाढा रहेकाले सडकलाई खासै असर नपर्ने सडक डिभिजन कार्यालय बैतडीका सूचना अधिकारी इन्जिनियर लीलाधर भट्टले बताए । उद्योगमा २५ अर्ब रुपियाँ लगानी गर्ने योजना रहेको बताइएको छ ।
सिमेन्ट उद्योग सञ्चालन हुँदा सडकलाई असर पर्ने वा नपर्ने विषयमा राय मागिएको उनले बताए । भौगोलिक रूपमा सडकबाट पाँच सय मिटर भन्दा टाढा नै देखिए पनि हवाई दुरी भने करिब पाँच सय मिटर जति देखिएको भट्टले बताए ।
यसका लागि सुर्खेतस्थित सुपरिन्टेन्डेन्ट इन्जिनियरको अनुमति मागेको उनले बताए । सिमेन्ट उद्योग सञ्चालनको सबै तयारी पूरा भएर सडक विभागको स्थलगत निरीक्षण सतिको सहमति माग गरिएको आइएमई समूहका भूवैज्ञानिक प्रेम खड्काले बताए ।
उनले पहिलो चरणमा ३५ वर्षसम्मका लागि पुग्ने गरेर ६८ हेक्टर क्षेत्रफलमा रहेको चुनढुङ्गा उत्खननको प्रस्ताव गरिएको जानकारी गराए । प्रस्तावित खानीमा अनुमानित चार करोड ६५ लाख टन चुनढुङ्गा रहेको भूवैज्ञानिक खड्काले बताए ।
खानीबाट दैनिक चार हजार पाँच सय टन चुन ढुङ्गा उत्खननको प्रस्ताव राखिएको उनले जानकारी गराए । यहाँको ढुङ्गामा ५० प्रतिशत चुन (क्याल्सेसियम अक्साइड) र १.२ प्रतिशत म्याग्नेसियम अक्साइड भेटिएको उनले जानकारी गराए ।
नेपालमा सिमेन्ट उद्योगका लागि चाहिने चुनढुङ्गामा तीन प्रतिशत भन्दा बढी म्याग्नेसियम अक्साइड राम्रो नहुने बताए । म्याग्नेसियम अक्साइडको मात्रा जति कम भयो, त्यति राम्रो हुने भूवैज्ञानिक खड्काले बताए ।
सुदूरपश्चिम प्रदेश सकारले २०७७ सालमा गरेको अध्ययन अनुसार बैतडीमा नेपालकै राम्रो चुनढुङ्गा रहेको निष्कर्ष निकालेको थियो । प्रदेश सरकारको अध्ययन पछि आइएमई समूहले नवलपरासी पूर्वको चोरमारामा १० अर्ब रुपैयाँमा सिमेन्ट कारखाना स्थापना गर्ने परियोजना स्थगन गरेर बैतडीमा नयाँ उद्योग स्थापना गर्न लागेको हो ।
नेपाल–भारत सीमानाका झुलाघाटबाट ३५ किलोमिटर पूर्वमा रहेको खानी नजिकै उद्योग स्थापना गरेर नेपालको सिमेन्ट विदेश निर्यात गर्ने लक्ष्य राखिएको छ ।
सिमेन्ट उद्योगलाई आवश्यक पर्ने फलाम समेत बैतडीमै भेटिएको छ । सिमेन्ट उद्योगलाई आवश्यक पर्ने म्याग्नाइट आइरन बैतडीको सिगास गाउँपालिका वडा नम्बर–१, सुगरखालमा भेटिए पछि उद्योगी थप उत्साहित भएका छन् ।
फलाम खोजतलास गर्ने अनुमति पाएको नेपाल जिन्दु माइनिङले सुगरखालमा पत्ता लगाएको खानीमा ३८ प्रतिशत फलाम भेटिएको छ । फलाम उत्खनन गर्ने कम्पनी पनि सिमेन्ट उद्योग खुल्ने प्रतीक्षामा रहेको बताईएको छ ।


