भदौ ०३ धनगढी । भारतबाट अवैध रुपमा भन्सार छली गरी ल्याइएका सामान कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले बरामद गरेको छ ।
कैलालीको भजनी नगरपालिका वडा नम्बर–५ कालापातल तथा पगियापसार,कालिका मन्दिर नजिक प्रहरीले बेवारिसे अवस्थामा विभिन्न सामान बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको गस्ती टोलीले अन्दाजी एक लाख ७३ हजार पाँच सय रुपैयाँ बराबरका कीटनाशक औषधि, एउटा साइकल लगायतका सामान नियन्त्रणमा लिएको जनाएको छ ।
त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर–११ गड्डाचौकी र बेलौरी नगरपालिका वडा नम्बर–६ भुराकोट क्षेत्रमा समेत प्रहरीले भन्सार छली गरि ल्याएका सामान फेला पारेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतका गस्ती टोलीले अन्दाजी दुई लाख ३४ हजार बराबरका प्याज, पेय पदार्थ, विभिन्न किसिमका कपडा, हार्डवेयर तथा किराना सामान नियन्त्रणमा लिएको जनाएको छ ।
बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुुझाइएको छ ।

