भदौ ०३ कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा घरपालुवा कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखापरेको छ । नगरपालिकाको पशु विकास शाखा उपचार केन्द्रमा उपचारका लागि ल्याइएका कुकुरमा पहिलोपटक उक्त सङ्क्रमण देखापरेको हो ।
पशु विकास शाखाका पशु चिकित्सक भोजराज पाण्डेयले बाह्य क्षेत्रबाट खरिद गरेर ल्याइएका कुकुरमा उक्त भाइरसको सङ्क्रमण देखिएको जानकारी गराए ।
पार्वो भाइरस विरुद्धको खोप दिने कार्यसँगै कुकुर निकै कमजोर देखिएकाले स्लाइनपानी (ग्लुकोज) चढाएर उपचार सुरु गरेको उनले बताए ।
छ महिना देखि दुई वर्ष उमेर समूहका कुकुरलाई उक्त भाइरसको सङ्क्रमण तीव्र रूपमा फैलिने गरेको उनले बताए । बाह्य क्षेत्रबाट कुकुरका छाउरा छाउरी ल्याउने लैजाने क्रममा पार्वो भाइरस सङ्क्रमण हुने उच्च सम्भावना रहने उनले बताए ।
पार्वो भारइरस सङ्क्रमण भएको कुकुरको सम्पर्कमा रहेका अन्य कुकुरलाई पनि यो भाइरस सर्ने प्रवल सम्भावना रहने बताउदै उनले सम्पर्कमा रहेका कुकुरलाई भाइरस सङ्क्रमण भए नभएकोबारे अनुसन्धान गरिरहेको बताए ।
पशु चिकित्सक पाण्डेयले गर्मीका बेला यस भाइरसको सङ्क्रमण कुकुरमा बढी देखिने गरेको बताए । पार्वो भाइरसको सङ्क्रमण स्थानीय जातका कुकुरमा थोरैमात्र हुने भए पनि घरमै पालिने ‘एक्जोटिक ब्रीड’हरू बाह्य देशबाट ल्याइने विशेष प्रजातिका कुकुरमा बढी देखापर्ने गरेको उनले बताए ।
पार्वो सङ्क्रमण भएका कुकुरमा रगत सहितको पातलो दिसा हुने, वाकवाकी लाग्ने, कुकुर चिसो भएको ठाउँ, झाडीमा बस्न रुचाउने, दिसा गन्हाउने, खाना पानीमा रुचि नराख्ने लगायत लक्षण देखापने उनले बताए ।
यस्तो लक्षण देखिए जतिसक्दो चाँडो उपचारका लागि पशु चिकित्सालयमा लैजानु पर्ने बताउदै उनले तुरुन्त उपचार प्रक्रिया सुरु गर्नुपर्ने बताए । यो भाइरस सङ्क्रमण भएका कुकुर मर्ने दर उच्च रहने गरेको उनले बताए ।
यस भाइरसबारे सर्वसाधारणलाई जानकारी नभएकाले जनचेतना मार्फत जानकारी दिनुपर्ने चिकित्सक पाण्डेयले बताए ।
शुक्लाफाँटा नगरपालिकाका पशु शाखा प्रमुख रामप्रसाद भट्टले यो भाइरस रोकथाम गर्न सकिने खालको भएकाले पालकले समयमै खोप लगाइ दिएमा कुकुरको ज्यान बचाउन सकिने बताए ।
कुकुरलाई सङ्क्रमण हुन नदिनका लागि जन्मिएको छ देखि आठ हप्ताको कुकुरका छाउरा छाउरीलाई पार्वो भाइरस विरुद्धको नियमित खोप लगाउनु पर्ने उनले बताए । मौसममा आएको परिवर्तनका कारण रोगको सङ्क्रमण देखापरेको उनले बताए ।


