भदौ ०२ दार्चुला । दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर–२ राप्लामा पहिरोले दुई घरमा क्षती पु¥याएको छ । आइतबार राती वर्षासँगै खसेको पहिरोले राप्लाको गोतपानीका कालु राम कामी र मानमती कामीको घरमा क्षती पु¥याएको हो । दुबै परिवारको घर मुनीबाट पहिरो खसेपछि घरका भित्ताहरु चर्किए पछि उनिहरु विस्थापीत भएका छन ।
पहिरोले विस्थापित परिवारलाई स्थानीय, सुरक्षाकर्मी र जनप्रतिनिधिको सहयोगमा सोही वडामा रहेको मिलन केन्द्रमा स्थानान्तरण गरिएको व्यास गाँउपालिकाका उपाध्यक्ष विनोद सिंह कुँवरले बताए । दार्चुलामा लगातार परेको वर्षाका कारण खसेको पहिरोले घर भत्किएर पाँच घर परिवार विस्थापित भएका छन् ।
वर्षाको समयमा घर भत्किए पछि पीडितको दैनिक जीवन अस्तव्यस्त बनेको छ । गत बिहिबार शैल्यशिखर नगरपालिका वडा नम्बर–८ सिमखेत मट्यौलाका तोयराज जोशीको गत वैशाखमा मात्रै बनाएको दुई तले चार कोठाको पक्की घर भत्किएको थियो । नयाँ घर बनाउँदा लागेको ऋण कसरी तिर्ने चिन्ता लागेको बेला घर भत्किएको जोशीले दुखेसो पोखे ।
भएभरको सम्पत्ती लगाएर बनाएको नयाँ घर भत्किए पछि अहिले परिवार सहित छिमेकीको घरमा बसेको उनले बताए । त्यसैगरी लेकम गाउँपालिका वडा नम्बर–५ मैखोली बोया बस्ने नवराज जोशीको घरमाथिबाट पहिरो खसेपछि छिमेकी देवीदत्त जोशीको घरमा बस्दै आएको उनले बताए ।
परिवारका सदस्य र गाईबस्तु छिमेकीको घरमा राखेको उनले बताए । त्यसैगरीै मालिकार्जुन गाउँपालिका वडा नम्बर–७ पन्तपाली खोज्यागैरका गंगासिंह धामीको तीन तले ढुंगाको घर भत्किएको छ । घर भत्किएका तथा विस्थापित भएका परिवार अहिले राहत र पुनर्निर्माणको आशामा रहेका छन् ।
पीडित तोयराज जोशीले सरकार र सहयोगी हातहरुले सहयोग नगरे जीवन अघि बढाउन गाह्रो भएको बताए । छिट्टै राहत र सुरक्षित बासको व्यवस्था गरिदिन उनीहरुले अपिल गरेका छन । दार्चुलाका कच्ची सडकहरू वर्षाका कारण ठाउँ–ठाउँमा भत्किए पछि धेरै ग्रामिण सडकमा आवागमन गर्न समस्या भएको छ ।
वर्षासँगै लेदोसहितको पहिरो खस्दा आइतबार रातिदेखि बन्द रहेको महाकाली लोकमार्ग अन्तर्गत गोकुलेश्वर–खलंगा सडक खण्ड सञ्चालनमा आएको छ ।
मालिकार्जुन गाउँपालिका वडा नम्बर–३ तेर्छालेक र शैल्यशिखर नगरपालिका वडा नम्बर–६ को सिमानामा पर्ने रनेबाँस क्षेत्रमा सडक सफा गरेपछि यातायातका साधनहरु सुचारु भए पनि फेरी पहिरो खस्ने जोखिम कायमै रहेको मालिकार्जुन प्रहरी चौकी इन्चार्ज नरेन्द्र सिंह धामीले बताए ।
केही दिन पहिलेको अत्यधिक वर्षाका कारण व्यास गाउँपालिका वडा नम्बर–१ तिंकर खोलामा बाढी आएपछि छाङरु र टिंकर गाउँ जोड्ने बाटो र काठे पुल बगाएको सशस्त्र प्रहरी बल नम्बर ४४ गणका डीएसपी लिलीबहादुर चन्दले
बताए ।
छाङरु र टिंकर जोड्ने ३ सय ४ सय मिटर बाटो बगाउँदा तिंकर गाउँसित सम्बन्ध विच्छेद भएको स्थानीयले बताएका छन् । दार्चुलाका नौँ वटै स्थानीय तहका दर्जनौँ गाउँहरुमा बाढी, पहिरोको उच्च जोखिम रहेको बताईएको छ ।

