भदौ ०१ धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले मान्छेलाई सुरक्षित रुपमा अवतरण गराउन सकिने सेफ्टी जम्प एयर ब्याग किनेको छ ।
धनगढी उपमहानगरपालिकाले घरमा आगलागी भएको अवस्थामा माथिल्लो तल्लामा रहेका मानिसलाई त्यसमा कुद्न लगाएर सुरक्षित अवतरण गराउने सेफ्टी जम्प एयर ब्याग किनेको हो ।
यस ब्यागबाट धनगढीवासीलाई सेवा दिइने धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बताए ।
विशेष गरेर चार–पाँच तल्लाको घरमा तल्लो वा अन्य तल्लामा आगलागी भएमा उद्धार गर्न कठिनाइ भएको बेला मान्छेलाई सेफ्टी जम्प एयर ब्यागमा कुद्न लगाइने उनले जानकारी गराए ।
आपतमा परेकालाई उद्धार गर्न नसकिने अवस्थामा उनीहरुलाई यस ब्यागमा कुद्न अभिप्रेरित गर्ने उनले बताए ।
सेफ्टी जम्प एयर ब्यागमा पम्पले आठ मिनेट तीन सेकेण्डमा हावा भरिने गरेको धनगढी उपमहानगरपालिकाले जानकारी गराएको छ ।
खरिद गरेर ल्याइएको ब्यागको शनिबार धनगढी उपमहानगरपालिकाको कार्यालयमा परीक्षणसमेत गरिएको छ ।

