साउन ३० बैतडी । बैतडीमा पछिल्लो तीन वर्षको अवधीमा बेपत्ता भएका मध्ये ५२ जना अझै भेटिएका छैनन । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार बैतडीमा पछिल्लो तीन वर्षको अवधीमा बेपत्ता भएका मध्ये ५२ जना अझै नभेटिएका हुन ।
प्रहरीको तथ्यांक अनुसार आर्थिक बर्ष २०७९÷८० मा १ सय ५ जना हराएकोमा ९१ जना फेला परेका थिए भने ती मध्ये १४ जनाको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी गराए ।
त्यसैगरी आर्थिक बर्ष २०८०÷८१ मा १ सय १५ जना हराएकोमा १ सय १३ जना फेला परेको उनले जानकारी गराए । गत आर्थिक बर्ष २०८१÷८२ मा १ सय २२ जना हराएकोमा ८६ जना फेला परेको उनले बताए ।
बेपत्ता हुनेमा महिला र बालबालिकाको संख्या बढी रहेको प्रहरी निरीक्षक पाण्डेयले जानकारी गराए । गत आर्थिक बर्षमा ५५ जना महिला,२७ बालक, २९ जना बालिका र १ एक जना जेष्ठ नागरिक बेपत्ता भएको प्रहरीमा निवेदन परेको उनले जानकारी गराए ।
ती मध्ये ८६ जना फेला परेका उनले जानकारी गराए । बेपत्ता भएको समयमा प्रहरीमा निवेदन दिए पनि कतिपयले फेला परेको जानकारी नदिने भएकाले पनि बेपत्ताको तथ्यांक बढ्दै गएको प्रहरीले जनाएको छ ।
बैतडी भारतसँग खुला सीमा भएको जिल्ला भएकाले पनि धेरैजसो भारततर्फ जाने र उतै बस्ने गरेको उनले बताए । सामाजिक सञ्जालको दुरुपयोग लगायतका कारणले पनि बेपत्ता मानिसको संख्या बढ्दै गएको उनले बताए ।


