साउन ३० बाजुरा । बाजुरा जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर–१, बिच्छ्यामा बुधबार राति आएको बाढीपहिरोले स्थानीयको उठिबास भएको छ । बुधबार बिच्छ्याखोलामा आएको बाढी घरभित्र पसेपछि बिच्छ्यावासीको उठिबास भएको हो ।
बाढीका कारण अहिले एक दर्जनभन्दा बढी घर, एक स्वास्थ्य चौकी, वडा कार्यालय र बिच्छ्या माविको भवन समेत पूर्ण रूपमा क्षति भएकोे स्थानीय उमेश रोकायाले बताए ।
बाढीले दर्जनौँ घर बगाएको र अन्य घर पनि जोखिममा परेको उनले बताए । साथै बिच्छ्याखोलामा हालेको झोलुङ्गे पुलमा क्षति पुग्दा अहिले स्थानीयलाई आवत जावत गर्न समस्या भएको उनले बताए ।
बाढीपहिरोले मानवीय क्षति नभए पनि भौतिक रूपमा निकै क्षति गरेको उनले बताए । घर, विद्यालय, पुल, बाटो लगायतका भौतिक पूर्वाधारमा निकै क्षति भएको छ । अहिले बाढीले गरेको क्षति भएको बताउदै उनले क्षतीको यकिन मूल्याङ्कन नभएको बताए ।
मानवीय क्षति नभए पनि घर, विद्यालय, स्वास्थ्य र वडा कार्यालयको भवनमा ठुलो क्षति गरेको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले बताए । बिच्छ्या हिमाली गाउँपालिकाको निकै दुर्गम ठाउँ भएको बताउदै उनले अझै के कति क्षति भएको छ भन्ने विषयमा जानकारी हुन नसकेको बताए ।
पालिकाबाट टोली घटनास्थलमा खटाइएको उनले बताए । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख इकवाल हवारीले के कति जनधनको क्षति भएको भन्न्नेबारे मुचुल्का तयार भए पछि मात्र भन्न सकिने बताए ।


