साउन २७ धनगढी । कैलालीको टीकापुरमा बसले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । टीकापुर बसपार्कबाट लम्कीतर्फ गईरहेको सुप प्र ०१–००१–ख ३५८३ नम्बरको बसले मंगलवार बिहान साइकल र मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको हो ।
दुर्घटनामा साइकल यात्रीको मृत्यु भएको प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरिक्षक नविन राजा बुढाथोकीले जानकारी गराए ।
टीकापुर नगरपालिका वडा नम्बर ६ मिलनपुर शिविरका ४५ वर्र्षीय अतवारी चौधरीको मृत्यु भएको उनले बताए ।
मृतक चौधरी काठको काम गर्ने मिस्त्री भएको र उनी घरबाट काठको काम गर्ने भन्दै हिडेको प्रहरीले जनाएको छ । दुर्घटनामा सुप प्र ०१–१२–प १८६९ नम्बरको मोटरसाइकल चालक टीकापुर नगरपालिका वडा नम्बर ६ का २५ बर्षीय राजु चौधरी घाईते भएको प्रहरीले जानकारी गराएको छ ।
उनलाई उपचारका लागि नेपालगञ्ज पठाइएको बताईएको छ । प्रत्यक्षदर्शीका अनुसार बसले पहिले साइकल यात्रीलाई ठक्कर दिएको थियो भने पछि मोटरसाइकललाई ठक्कर दिएको थियो ।


