साउन २७ धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला कारागार, कैलालीको सुधार गर्ने भएको छ । क्षमता भन्दा पाँच गुणा बढी कैदीबन्दी रहेको कैलाली कारागारलाई प्रदेश सरकारले तत्काल सुधार गर्ने भएको हो ।
कारागार भित्र कैदीबिच हिंसात्मक झडप पछि मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको प्रदेश सुरक्षा समितिको बैठकले कारागारलाई तत्काल प्रदेश सरकारले सुधार गर्ने निर्णय गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कारागार भित्र हेलोजन लाइट, सिसी क्यामरा जडान, कारागारको छाना लगायतका आवश्यक मर्मत तत्काल सुरु गर्ने बैठकले निर्णय गरेको हो ।
समितिको बैठकले कारागारको सुरक्षार्थ खटिने सुरक्षाकर्मीलाई तीन÷तीन महिनामा अदलीबदली गर्ने व्यवस्था मिलाउने निर्णय गरेको समितिका सदस्य सचिव एवं आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सदस्य सचिव आमोद दाहालले बताए ।
कारागार प्रशासन र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा कारागार सुरक्षाका लागि कारागार ऐनमा आवश्यक सुधारका लागि सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय समितिले गरेको छ ।
कैलाली कारागार भित्र रहेको कैदीको सङ्ख्या कारागारको क्षमता भन्दा पाँच गुणा बढी देखिएका कारण उत्पन्न सुरक्षा चुनौती न्यूनीकरण गर्न कारागारको क्षमता अनुसार कैदीबन्दी व्यवस्थापनका लागि कारागार विभागसँग समन्वय गर्ने बैठकले निर्णय गरेको छ ।
१ सय ७५ जना कैदी क्षमता भएको कैलाली कारागारमा ६ सय ९९ जना कैदी बन्दि राखिएको छ । कारागार भित्र जाने खाद्यान्न, तरकारी तथा अन्य वस्तुको निगरानी र जाँच बढाउन कारागार प्रशासन र सुरक्षाकर्मीलाई प्रमुख जिल्ला अधिकारी मार्फत निर्देशन दिने निर्णय समितिले गरेको छ ।
कैलाली कारागारमा रहेका कैदीबन्दीको सङ्ख्या भन्दा हालको कारागारको क्षमता निकै कम रहेका कारण सुरक्षा चुनौती उच्च देखिएको समितिले ठहर गरेको छ ।
कारागारको क्षमता अभिवृद्धि गर्न र सुविधासम्पन्न कारागारको पूर्वाधार तथा खुला कारागारको अवधारणा कार्यान्वयन गर्न सङ्घीय सरकार समक्ष अनुरोध गर्ने निर्णय सुरक्षा समितिको बैठकले गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय र कारागार प्रशासनबिच समन्वय गरी कारागार भित्र कैदीबन्दीलाई मनोवैज्ञानिक परामर्श, सकारात्मक सोच विकास गर्ने खालका कार्यक्रम सघन रूपमा सञ्चालन गर्ने निर्णय गरिएको छ ।
कैदीबन्दीका लागि पुस्तक पनि उपलब्ध गराउने समितिको बैठकले निर्णय गरेको छ । कैलाली कारागारमा कैदीबिचको हिंसात्मक झडपमा परी ज्यान गुमाएका भरत चौधरीको परिवारलाई प्रदेश सरकारले पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
शुक्रवार राति कारागार भित्र कैदीबिच हिंसात्मक झडप हुँदा धनगढी उपमहानगरपालिका वडा नम्बर–४ का ४० वर्षीय चौधरीको ज्यान गएको थियो ।
उक्त घटनामा ४८ जना कैदी घाइते भएका छन । घाईते कैदीको सरकारी खर्चमा उपचार गर्ने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ । घाइते कैदीको धनगढी र काठमाडौँमा उपचार भइरहेको छ ।


