साउन २७ बैतडी । बैतडीको जीर्ण कारागारमा क्षमता भन्दा दोब्बरबढी कैदीबन्दी हुँदा सुरक्षा र व्यवस्थापनमा चुनौती थपीएको छ ।
चार दशक अघि निर्माण गरिएको बैतडीको कारागार जीर्ण बन्नुकासाथै क्षमता भन्दा दोब्बरबढी कैदीबन्दी हुँदा सुरक्षा र व्यवस्थापनमा चुनौती थपीएको हो ।
जीर्ण कारागारमा क्षमता भन्दा दोब्बरबढी कैदीबन्दी हुँदा सुरक्षा र व्यवस्थापनमा चुनौती थपिएको कारागारका प्रमुख धारा भण्डारीले बताए । उनले २५ जना क्षमताको बन्दीगृहमा अहिले ६३ जनालाई राखिएको बताए ।
बन्दीगृहमा ५३ जना कैदीबन्दी र १० जना थुनुवा रहेको उनले जानकारी गराए । क्षमता भन्दा बढी कैदीबन्दी हुँदा सुरक्षा सहित उचित व्यवस्थापन गर्न समस्या हुने गरेको बताउदै उनले दशकौँ पुरानो कारागार जीर्ण बनेकाले महिला कैदीबन्दी राख्ने ठाउँ नभएपछि महिला बन्दीलाई डडेल्धुरा पठाउने गरिएको जानकारी गराए ।
खाटमाथि खाट राखेर बन्दीको बसाइँ व्यवस्थापन गरिएको बताउदै प्रमुख भण्डारीले जस्तापाताले छाएको जीर्ण भवनमा वर्षात्को समयमा पानी चुहिने समस्या र हिउँदमा शीत झर्ने समस्या हुने गरेको बताए ।
यसका साथै खानेपानी आपूर्ति र सरुवा रोगको पनि जोखिम भएको उनले बताए । विसं २०४० सालमा निर्माण भएको कारागार भवन जीर्ण भइसक्दा समेत नयाँ भवन बन्न नसकेको उनले बताए ।
चालु आर्थिक वर्षदेखि नयाँ भवन निर्माणका लागि ठेक्का सम्झौता भइसकेकाले आगामी असोज–कात्तिक देखि काम सुरु हुने उनले जानकारी गराए ।
सघन सहरी तथा भवन निर्माण आयोजना डोटी मार्फत १० करोडको लागतमा भवन निर्माणका लागि निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको उनले जानकारी गराए ।
साथै खानेपानी आयोजनाका लागि प्रदेश सरकारले १० लाख विनियोजन गरेको प्रमुख भण्डारीले जानकारी गराए ।

