साउन २७ धनगढी । धनगढी उपमहानगरपालिकाका १२ वटा वडामा विद्युतीकरण सुदृढीकरणको काम गरिने भएको छ ।
नेपाल विद्युत प्राधिकरण र उपमहानगरपालिकाको पचास–पचास प्रतिशत लागत साझेदारीमा विद्युतीकरण सुदृढीकरणको काम गरिने भएको हो ।
जसअन्तर्गत पोल थप्ने, ट्रान्सफर्मर जडान गर्ने, फेज विस्तार गर्ने र केबल परिवर्तन गर्ने काम गरिने उपमहानगरपालिकाले जानकारी गराएको छ ।
उपमहानगरपालिका विद्युत शाखा प्रमुख किसनकुमार शाहले चालु आर्थिक वर्षमा वडाहरूले विनियोजन गरेको बजेट बराबरको रकम उपमहानगरले थप गरी विद्युत प्राधिकरणको खातामा ७३ लाख ९० हजार रुपैयाँ जम्मा गरिएको बताए ।
धनगढीका १९ वडा मध्ये यस वर्ष वडा नम्बर १, २, ५, ७, १०, ११, १२, १३, १४, १५, १८ र १९ ले विद्युतीकरणका लागि बजेट छुट्याएको उनले बताए ।
यी वडाहरूले ३६ लाख ९५ हजार रुपैयाँ विनियोजन गरेकोमा उपमहानगरले पनि सोही बराबरको रकम थपेको शाहले जानकारी गराए ।
विद्युत प्राधिकरणले पनि ७३ लाख ९० हजार रुपैयाँ बराबरको बजेट छुट्याएर पोल खरिद तथा जडान, लाइन विस्तार र व्यवस्थापन गर्ने उनले बताए ।
इन्जिनियर शाहले कुल एक करोड ४७ लाख ८० हजार रुपैयाँको लागत साझेदारीमा १२ वटा वडामा विद्युतीकरण सुदृढीकरण गरिने जानकारी गराए ।

