बैशाख २८ कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर–८ नौखरीका ७३ वर्षीय रामसिंह विष्टले ढुङ्गाको मूर्ति बिक्री गरेर जीविका चलाउँदै आएका छन । विष्टले चुरेका खोलाबाट ढुङ्गा सङ्कलन गरी मूर्ति निर्माण गरेर बिक्री गरी जीविका चलाउँदै आएका हुन ।
ढुङ्गाबाट बनाइएका मूर्ति बिक्री गरी घरखर्च चल्ने गरेको उनले बताए । अन्य व्यक्तिले ढुङ्गाबाट बनाइएका मूर्ति हेर्दाहेर्दै मुर्ती बनाउन सिकेको बताउदै विष्टले ढुङ्गाबाट बाघ, भगवती, गाई, शिव, गणेश, शिवलिङ्ग, नन्दी लगायतका मूर्ति बनाउने गरेको बताए ।
एक दशकको अवधिमा एक सय ५० बढी मूर्ति निर्माण गरिसकेको बताउदै उनले एक मूर्ति निर्माण गर्न एक देखि तीन महिना सम्म लाग्ने गरेको बताए । मूर्ति बनाए बापत प्रतिमूर्ति ३० देखि ५० हजार सम्म पारिश्रमिकका रूपमा लिने गरेको बताउदै विष्टले मूर्ति बनाउने माग आए आफैँ गोरुगाडा लगेर चुरे फेदीका खोलामा पुग्ने गरेको बताए ।
मूर्ति बन्न सक्ने ढुङ्गा खोजेर घरमा ल्याएर फलामको औजारले खोपेर मूर्ति तयार गर्ने गरेको उनले बताए । मूर्ति बनाए बापत आउने रकमले घरपरिवारको खर्चसँगै लुगाफाटो, अन्न खरिद गर्दै खर्च चलाउने गरेको उनले बताए ।
बिहानी देखि साँझ सम्म मूर्ति बनाउनमा खटिएका देखिने विष्टले दुई–तीन महिनामा मूर्ति बनाउने माग आउने गरेकाले पारिश्रमिक बापत पाइने रकम घर खर्चमै सिद्धिने गरेको बताए । तराईमा भन्दा पहाडी क्षेत्रका मन्दिरमा सजाउनका लागि मूर्तिको बढी माग आउने गरेको बताउदै सीप सिक्दा जीविका चलाउन सहज भएको बताए ।


