बैशाख २३ धनगढी । कैलालीबाट १७ लाख ४६ हजार अवैध रकम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको भजनी नगरपालिका वडा नम्बर ५ गुलरीयाघाट र टीकापुर नगरपालिका नम्बर १ बाट प्रहरीले अवैध रकम सहित २ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, कैलालीले गुलरीयाघाट भन्सार कार्यालय नजिकबाट भारतको उत्तर प्रदेश, लखिमपुर खिरी जिल्ला, तिकुनियाका ३२ वर्षीय अमन कुमार गर्गलाई आठ लाख ९६ हजार ६ सय ६० रुपैया नेपाली सहित पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय, पृथ्वीपुरले मङ्गलवार उनलाई युपी ३२ एचएच ६५५३ नम्बरको भारतीय मोटरसाइकलमा सवार रहेको अबश्थामा पक्राउ गरेको हो ।
प्रहरीले उनलाई अवैध रकम र मोटरसाइकल सहित भन्सार कार्यालय, सत्ती पठाएको छ ।
त्यस्तैगरी कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ का १९ वर्षीय अर्मन चौधरीलाई पाँच लाख ३१ हजार चार सय भारतीय रकम सहित प्रहरीले पक्राउ गरेको हो ।
भारतीय रकम लुकाएको सूचनाका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनलाई राजस्व अनुसन्धान कार्यालय, कोहलपुर, बाँके पठाइएको प्रहरीले जानकारी गराएको छ ।


