रेखा चौधरी, चैत्र १२ कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ६ का लोकबहादुर चौधरीले तरकारी खेतीबाट वार्षिक ४ लाख आम्दानी गर्दै आएका छन । १० वर्षदेखि व्यवसायिक तरकारी खेती गर्दै आएका चौधरीले वार्षिक ४ लाख आम्दानी गर्दै आएका हुन ।
तरकारी खेतीबाट पारिवारको सम्पूर्ण खर्च बयहोर्ने गरेको उनले बताए ।
तरकारी टिप्ने बजार सम्म लैजाने र बिक्री गर्ने काममा निकै व्यस्त भएका चौधरीले परिवारका सबैजना यही काममा लागिरहेको बताए । खेतमा लगाएका काक्रा गोडमेल गर्दै गरेका चौधरीले वर्षको तीन समयमा तरकारी लगाउने गरेको बताए ।
वार्षिक ४ लाख आम्दानी हुने गरेको बताउदै उनले आठ कट्टा जमिनमा तरकारी खेती गरिरहेको जानकारी गराए । यस वर्ष मात्रै चार कट्टा जमिनमा लगाएको काउलीबाट ८० हजार आम्दानी गरेको बताउदै उनले अहिले खेतमा काक्रा, करेला, लौका फर्सी, खरबुजा र प्याज लगाएको बताए ।
उनको तरकारी पेशाबाट आकर्षित भएर अन्य स्थानीय बासिन्दा पनि तरकारी खेतीमा लागेका छन् । किसानलाई खेती सम्बन्धी तालिम उपयुक्त बिउविजन नया कृषि प्राविधिक सामग्री तथा औजार सहयोग नवप्रगति सहकारी संस्था तथा स्थानीय निकायबाट गर्दै आएको किसानहरुले बताएका छन ।
सिजन अनुसारको तरकारी लगाउदै गरेको बताउदै चौधरीले तरकारी खेतीबाट ७ जनाको परिवारको घर खर्च र छोराछोरीलाई पढाइ लेखाई खर्च धानेको बताए । धान, गहु जस्ता नगदे बालीबाट आर्थिक प्रगती नभए पछि तरकारी खेती गरेको बताउदै उनले तरकारी खेतीबाट सन्तुष्ट भएको बताए ।