चैत्र ११ कञ्चनपुर । चोरीका २ ट्याक्टर सहित कञ्चनपुरबाट २ जना चालकलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडाको संयुक्त टोलीले भारतीय नम्बरका ट्याक्टर सहित २ जना चालकलाई पक्राउ गरेको हो । बेलौरी नगरपालिका वडा नम्बर– १० सडकघाटबाट भारतीय यूपी २० बिएच २४१५ र आरएलएफ २ एमबि ४१७६९ नम्बरका ट्याक्टरहरु नियन्त्रणमा लिइएको प्रहरीले जानकारी गराएको छ ।
भारतको मुरादावाद जिल्ला भोजपुरका २३ वर्षीय साजी दलेल र सोहि ठाँउका मिठ्ठु सिंहलाई ट्याक्टरसहित पक्राउ नियन्त्रणमा लिई भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी गराएको छ । त्यसैगरी कञ्चनपुरमा १६ थान मोटरसाइकल सहित साढे १९ लाख मूल्य बराबरको भन्सार छलीको सामान प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय बेलडाडीबाट खटिएको प्रहरी टोलीले अन्दाजी १० लाख ४५ हजार, इलाका प्रहरी कार्यालय गड्डचौकीले ८ लाख ५५ हजार २ सय प्रहरीचौकि फटैयाले २७ हजार २ सय र अस्थायी प्रहरीबिट मझगाउँले २५ हजार गरि जम्मा १९ लाख, ५२ हजार ४ सय मूल्य बराबरकोे भन्सार छलीको सामान आइतवार बरामद गरेको हो ।
भन्सार छलीका कागजात नभएका १६ थान मोटरसाइकल विभिन्न कम्पनीका मोबाइलका डिस्प्ले, ग्लास, चार्जर, विभिन्न मोबाइलका पार्टसहरू, साडी, थान कपडा, कुरकुरे,र चस्मा लगायतका सामान बरामद गरी थप कारबाहीको लागी भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी गराएको छ ।