धनगढी । कृषि निर्देशनालय दीपायलको आयोजनामा कृषि क्षेत्रको आधुनिकीकरण, व्यावसायीकरण र औद्योगिकीकरणमा टेवा पुर्याउने लक्ष्य सहित धनगढीमा संञ्चालन भएको पाँच दिने प्रदेशस्तरीय कृषि तथा पशुपन्छी मेलामा ३ करोड भन्दा बढीको आर्थिक कारोबार भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर–१ पशुपति टोलको मैदानमा माघ २६ देखि ३० गते सम्म संञ्चालन भएको प्रदेशस्तरीय कृषि तथा पशुपन्छी मेलामा ३ करोड भन्दा बढीको आर्थिक कारोबार भएको हो ।
त्यसैगरी २७ हजार भन्दा बढी दर्शेकले अवलोकन गरेको कृषि निर्देशनालयका कृषि निर्देशक खगेन्द्रप्रसाद शर्माले जानकारी गराए । प्रदेश सरकारले कृषिमा गरेको लगानीको प्रतिफलको मूल्याङ्कन गर्न र थप सम्भावनाको खोजी गर्न आयोजना गरिएको कृषि प्रदर्शनी मेला उदेश्य पुरा गर्न सफल भएको उनले बताए ।
सुदूरपश्चिमको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पहिलो पटक प्रदेश स्तरीय कृषि तथा पशुपन्छी मेला तथा प्रदर्शनी गर्न सफल भएको शर्माले बताए । े मेलाको समापन कार्यक्रमा बोल्दै कृषि मन्त्री विर बहादुर थापाले प्रदेश सरकारले कृषिमा गरेको लगानीको प्रतिफलको मूल्याङ्कन मेलामा देखिएको बताए । उनले सम्भावनाको खोजी गर्न गरिएको कृषि प्रदर्शनी मेलाले आगामी दिनमा कृषि क्षेत्रमा थप के कति सुधार गर्ने सकिन्छ भन्ने कुरा देखाएको बताए ।
प्रदेश सरकारले केही गरेन भन्ने जनगुनासो सुनिन थालेकाले बताउदै उनले त्यसलाई चिर्न मेला आयोजना गरिएको बताए । मेलामा किसानले धेरै कुरा सिक्ने अवसर समेत पाएको मन्त्री थापाले बताए । मेलामा ९ वटै जिल्लामा उत्पादन भएका कृषि उपजको प्रदर्शनी गरिएको थियो । मन्त्रालयका सचिव यज्ञराज जोशीले मेलामा हरेक दिन कृषि सम्बन्धी नवीनतम प्रविधिको विषयमा जानकारी समेत किसानलाई दिएको बताए ।
उनले कृषि विज्ञहरूसँग कृषकलाई राखेर कृषि तथा पशुपन्छी क्षेत्रमा नवीनतम प्रविधि र अनुसन्धान बारे बहस र छलफल समेत भएको बताउदै आगामी दिनमा किसान कृषि पेशालाई थप अगाडी बढाउँन सहज हुने बताए ।
मेलाले बजार नपाएको भन्ने किसानको गुनासो र खोजेको कृषि उपज पाइएन भन्ने उपभोक्ताको गुनासोलाई पनि सम्बोधन गर्ने प्रयास गरेको उनले बताए । सुदूरपश्चिमका रैथाने र अर्गानिक कृषि उपज र खानाको परिकारको समेत मेलाका माध्यमबाट प्रचार प्रसारमा सहयोग पुगेको उनले बताए । मेलामा विभिन्न विधाका कृषक र विभिन्न क्षेत्रमा योगदान दिएका ब्याक्तिहरुलाई सम्मान पनि गरिएको थियो ।