माघ २५ धनगढी । संरक्षणको अभावमा ९७ वर्ष पुरानो कैलालीको गर्भादरबार जीर्ण बन्दै गएको छ । कैलालीको चुरे गाउँपालिका वडा नम्बर–४ मा रहेको ऐतिहासिक महत्वको गर्भादरबार संरक्षणको अभावमा जीर्ण बन्दै गएको हो । छाना उप्किन थालेको दरबारको भित्ता पनि भत्किन थालेका छन भने झ्याल, ढोका सबै भत्किएका छन् । दरबारमा रहेका मूर्ति पनि चोरी भइसकेका छन् । पर्यटनको सम्भावना बोकेको दरबार खण्डहरमा परिणत भएको छ ।
चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले गर्भादरबारको पुरातत्त्व विभागले संरक्षण गर्ने आश्वासन दिएको जानकारी गराए । प्रदेश सरकारले दरबार घेरबारका लागि १० लाख बजेट दिएको जानकारी गराउदै घेरबार गरिने बताए । मर्मत गर्न नमिल्ने बताउदै उनले सिमेन्टले छुन पनि नहुने बताए । तत्कालीन राणा शासकहरूले पोत (कर) उठाउने र मुद्धदा मामिला मिलाउने उद्देश्यका साथ गर्भादरबार बनाएको बुझिएको बताउदै उनले ९७ वर्ष पुरानो दरबार २४ वर्ष देखि प्रयोग विहीन हुँदा जीर्ण बन्दै गएको बताए ।
स्थानीयका अनुसार १९७९ मा शिलान्यास गरिएको दरबार १९८४ मा बनाइएको थियो । दरबार बनाउन पाँच वर्ष लागेको बताईएको छ । दरबारमा ८३ झ्याल र ५३ वटा ढोका रहेका छन् । तीन तले दरबारको पर्खालमा मासको गारो लगाईएको थियो भने, जापानबाट ल्याइएको जस्तापाताले छाइएको छ । जीर्ण भइसकेको दरबार भत्काएर बनाउनका लागि सुदूरपश्चिम प्रदेश सरकारले २० करोड रुपैयाँको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएको जनाइएको छ । तर, पुरातत्त्व विभागले अनुमति नदिँदा काम नहुने भएको छ ।
गाउँपालिकाका अध्यक्ष बोगटीले विभागले आफै संरक्षणको काम गर्ने बताएको जानकारी गराए । प्रदेश सरकारले गर्भा दरबारलाई पर्यटकीय स्थल बनाउन खोजेको थियो । त्यसका लागि पुरानो संरचनालाई भत्काएर पहिलेको जस्तै नयाँ दरबार बनाउने योजना बनाइएको भए पनि विभागले रोकेको बताईएको छ । दरबारसम्म सडक यातायातको पहुँच भएकाले पर्यटन व्यवसाय फस्टाउन सक्ने उनले जानकारी गराए ।
गौरीगङ्गा नगरपालिका वडा नम्बर–१ चौमाला हुँदै गर्भा दरबार सम्म पुग्ने बाटो बनिसकेको बताउदै उनले वडा नम्बर ४, २ र १ हुँदै बाटो पालिकाको सदरमुकाम सहजपुरमा पनि जोडिएको बताए । दुईतिरबाट गर्भा दरबारसम्म पुग्न सकिने जानकारी गराउदै उनले विद्युत् विस्तारको काम पनि भईरहेको बताए । विक्रम सम्वत् २०३३ साल देखि दरबारमा मान्छे बस्न छोडेको उनले जानकारी गराए । त्यसपछि हुलाक र गाउँविकास समितिको कार्यालय राखिएको उनले जानकारी गराए ।
तत्कालीन १० वर्षे द्वन्द्वको क्रममा हुलाक र गाउँविकास समितिको कार्यालयमा आगजनी भएपछि कुनै पनि प्रयोजनार्थ दरबार उपयोग नभएको उनले जानकारी गराए । २०५७ सालबाट दरबारको स्याहार, सम्भार हुन छोडेको बताउदै उनले दरबारको १३ रोपनी जग्गा मध्ये आधा स्थानीय बस्नेत निम्न माध्यमिक विद्यालय र आधा वडा कार्यालयको नाममा रहेको जानकारी गराए ।
दरबारको पुनः निर्माणको काम नभए पछि खण्डहरमा परिणत हुदै गएको बताउदै उनले आर्थिक वर्ष २०७७÷७८ मा पनि प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी गराए । दरबार सुरुमा श्रीबहादुर शमशेर दरबारको नामले चिनिएको बताइने गरेको उनले जानकारी गराए । खैरालाको भर्गा भन्ने स्थानमा रहेकाले पछि मात्रै यसको नाम गर्भा दरबार राखिएको उनले जानकारी गराए । दरबार खडक शमशेरले बनाए पनि राणाहरूले अंशबन्डा गर्दा गर्भा दरबार लेफ्टिनेन्ट जर्नेल बहादुर शमशेरको स्वामित्वमा आएको बताइईन्छ ।