माघ २५ बाजुरा । बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर १ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी भईरहेको नगरपालिकाले जानकारी गरीएको छ । समाजमा महिनावारी भएको बेला महिलाहरुलाई घर भन्दा टाढा अलग्गै राख्ने र पोसिलोयुक्त खाने कुराबाट बन्चित गराउने प्रचलनको अन्त्य गर्नका लागि बडीमालिका नगरपालिकाले छाउपडी गोठमुक्त अभियान अन्र्तगत वडा नम्बर १ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारीे गरेको जानकारी गराएको हो ।
कुरीतिको रुपमा रहेको छाउपडी प्रथालाई समाजबाट अन्त्य गर्नका लागि नगरपालिकाले सेवा क्षेत्रभित्र रहेका वडाहरुमा छाउपडी गोठको वर्तमान अवस्था र महिनावारी भएका बेला महिलाहरुले भोग्नु परेको समस्यालाई मध्येनजर गर्दै त्यसको अन्त्यका लागि नगरपालिकाले अभियान संञ्चालन गरेर अगाडि बढेको हो ।
महिनावारी भएका बेला छाउपडी महिलाहरुका लागि घर भन्दा टाढा अलग्गै राख्ने गरी बनाईएका छाउ गोठहरु नगरभित्रका वडा, टोल र समुदायबाट सधैका लागि अन्तय गर्न अभियान संचालन गरिएको बडीमालिका नगरपालिकाकी उपप्रमुख नन्दा कुमारी थापाले बताईन । महिनावारी भएका बेला महिला र किशोरीहरुले गोठमा बस्नुपर्ने बाध्यतालाई अन्त्य गर्नका लागि नगरपालिकाले गोठमुक्त अभियानलाई तिव्रता दिएको बताउदै उपप्रमुख थापाले बडीमालिका नगरपालिका भित्रका ९ वटा मध्ये ६ वटा वडा छाउपडी गोठमुक्त वडा घोषणा भएको जानकारी गराईन ।
वडा नम्बर १, ७ र ८ नम्वर वडालाई यहि आर्थिक वर्ष भित्र छाउपडी गोठमुक्त वडा घोषणा गर्ने गरी अभियान संचालन गरिएको उनले जानकारी गराईन । विहिबार नगरपालिकाको वडा नम्वर १ को पिनालेख, पाटा, नुवाकोट लगायतका टोलहरुमा महिनावारीका लागि घरभन्दा टाढा अलग्गै बनाईएका छाउगोठको अवस्था बारे उपप्रमुख थापाको नेतृत्वमा खटिएको टोलीले सयुक्त रुपमा अनुगमन गरेको छ । अनुगमनका क्रममा वडा नम्वर १ को पाटा गाउँमा पुग्दा महिनावारीका लागि केही परिवारले मात्रै छाउपडीका लागि घरभन्दा टाढा बसाल्ने गरेको भेटिएको उपप्रमुख थापाले बताईन ।
वडाका विभिन्न टोलमा छाउपडी गोठ र महिनावारी भएका महिलाहरुको अवस्था बुझ्दा पहिले भन्दा अहिले धेरै जसो समुदाय परिवर्तन भएको पाईएको उनले बताईन । अनुगमनका क्रममा महिनावारी भएका बेला बस्नका लागि बनाइएका गोठहरुलाई तत्काल भत्काएर घरमै सुरक्षित तरिकाले बस्ने गरि व्यवस्था मिलाउन समुदायलाई उपप्रमुख थापाले सुझाव दिएकी छन् ।
१ नम्बर वडाका विभिन्न टोलहरुमा छाउपडी गोठको अवस्था र छाउ भएका बेला महिला तथा किशोरीहरुलाई घर भन्दा टाढा राख्दा आईपर्ने समस्याहरुबाट बचाउन वडाबासीलाई सचेत गराइएको बडीमालिका नगरपालिका महिला तथा बालबालिका शाखाकी महिला सहायक निरिक्षक बिन्दु बडालले बताईन ।
छाउपडी कुप्रथा अन्त्य गर्न छाउ भएका महिला र किशोरीहरुलाई गोठमा अलग्गै राख्दा सर्पले टोक्ने, जंगली जनावरको सिकार हुने, बलाकृत हुने जस्ता घटना रोक्नका लागि छाउपडी गोठ हटाउन जरुरी रहेकोले सवैले साथ दिन आवश्यक रहेको महिला सहायक निरिक्षक शोभा शाहीले बताईन ।