माघ २५ धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिकाले बुधवारबाट निःशुल्क शव बाहान सञ्चालनमा ल्याएको छ । शव बाहान सञ्चालन भएसँगै शोक र पीडाका बिच शवलाई आर्यघाटसम्म लैजान सवारी साधन खोज्नु पर्ने बाध्यताको अन्त्य भएको छ । बुधवार शव बाहान सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले विपन्न नागरिकहरूका लागी प्रभावकारी हुने बताए ।
“मृत्यु सत्य हो । हामी पनि एक दिन जानु नै छ । संसारमा रहँदा सम्म दुख गरेको र पाएको मानिसले मृत्यु परन्तु पनि दुखै पाएको अवस्था थियो । असहज रूपमा ट्र्याक्टरमा, कतिपय त त्यसैमा दाउरा पनि बोकेको देखेको छु । बाहान नहुँदा शवले दुःख पाउने, किरिया बस्ने र अन्य आफन्तले अनावश्यक दुःख पाउने, शव यात्रा गर्न गाह्रो हुने अवस्था थियो उनले भने ।
यस्ता समस्यालाई समाधान गर्न पालिका भरिका लागी निःशुल्क रूपमा शव बाहान सञ्चालन गरेको उनदले बताए । बर्दगोरिया गाउँपालिकाले शव बाहान सञ्चालन गरेसँगै मृतकको काज किरिया खर्च बापत १० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । अति विपन्न परिवारका आफन्तले काज किरिया गर्न समेत गाह्रो हुने अवस्थाको अन्त्य गर्न रकम उपलब्ध गराउने भएको हो ।
सरकार भनेको जनताको दुःखको सारथी बन्नु पर्छ भन्ने सोचले “किरिया खर्च बापत दश हजार रुपैयाँ दिने निर्णय गरेको अध्यक्ष कुँवरले बताए । यद्यपि यसको कार्यविधि लगायतका अन्य प्राविधिक कुराहरू चाँडो भन्दा चाँडो अघि बढाएर जनतालाई सेवा दिन लागि परेको उनले बताए ।
निःशुल्क शव बाहान र किरिया खर्च बापत दश हजार पनि पाउने भएपछि आफन्त गुमाएको शोकमा डुबेका परिवारलाई केही मलहमको काम गर्ने अपेक्षा गरिएको छ । बर्दगोरिया गाउँ पालीकाले एक पछि अर्को जनपक्षिय काम गर्न थाले पछि नागरिकहरूले सरकार भएको अनुभूति गरेको बताएका छन ।