माघ २५ धनगढी । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर– ६ र ४ जोड्ने घुराहा नदीमा बनेको पक्की पुल कटानका कारण जोखिममा परेको छ । नदीको कटानका कारण पुल जोखिममा परेको हो । नदी कटानले पहुँच मार्गबाट छुट्टिन गइ पुल जोखिम्मा परेको हो । नदी कटानको मारमा परेको पुलको मर्मतमा भने कसैले चासो देखाएको छैन ।
नदीले धार परिवर्तन गरेपछि पुलको पूर्वतिर कटान भइ पुलको पहुँच मार्गमा भ्वाङ परेको भए पनि स्याउला, माटो हालेर काम चलाउका लागि भ्वाङ टालिएको छ । पुल जोखिममा हुदा दिनहुँजसो दुर्घटना हुने गरेको स्थानीयले बताएका छन । कैलारी गाउँपालीका वडा नम्बर–४ कै गाउँ खल्ला टोलका अटो चालक राजकुमार सिंहले पुल मर्मत नहुँदा दुर्घटना हुने गरेको बताए ।
ठुला सवारी साधन गुड्न छोडेको बताउदै उनले दिनहुँजसो दुर्घटना हुने गरेको बताए । पुल निर्माण गर्ने समयमा नदीको बहाव पश्चिमतिर भएको स्थानीइले बताएका छन । पुल बनाउनका लागि निर्माण कम्पनीले डोजरले खनेर नदीको बहावलाई पूर्वतिर फर्काएको बताईएको छ । फर्काइएको बहावलाई पुल बनेपछि पुनः पश्चिमतिर नपठाउँदा समस्या निम्तिएको बताइएको छ ।
कैलारी गाउँपालिका वडा नम्बर–६ खरुवाखेराका रघुनाथ चौधरीले नदीको पानी निरन्तर पूर्वतिरबाट बग्दै गएकाले उतै धार बनाएको बताए । पहिले नदी बग्ने ठाउँमा अहिले खरैखर र रुख भएको बताउदै उनले नदी भने पूर्वतिर गइरहेको बताए ।
कैलारी गाउँपालिकाकाका सूचना अधिकारी यगम कलेलले चालु आर्थिक वर्षमा उक्त पुल मर्मतका लागि प्रदेश सरकारबाट ५० लाख बजेट विनियोजन भएको जानकारी गराए । चालु आर्थिक वर्षमा उक्त पुलको पहुँच मार्ग मर्मत गरिने उनले बताएका छन ।