माघ ०४ धनगढी । नेपाल–भारत सीमामा रहेका सीमा स्तम्भको रंगरोगन तथा मर्मतकार्य कैलाली जिल्लाबाट सुरु भएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल सहित सुरक्षा निकायका प्रमुख र भारतीय सीमा सुरक्षा बल (एसएसबी) का असिस्टेण्ट कमाण्डरको उपस्थितिमा बिहीबार देखी सीमा स्तम्भको रंगरोगन तथा मर्मत कार्य सुरु गरिएको हो ।
नेपाल र भारत बीचको समझदारी अनुसार, बिजोर नम्बरका सीमा स्तम्भको मर्मत नेपालले र जोर नम्बरका सीमा स्तम्भको मर्मत भारतले गर्ने जिम्मेवारी रहेको छ । सोही अनुसार नेपालले पहिलो दिन टीकापुर नगरपालिका वडा नम्बर–८ खक्रौलास्थित ७०३÷२ नम्बर स्तम्भमा रंगरोगन गरेको हो ।
कार्यक्रममा पमुख जिल्ला अधिकारी हमालले सीमा स्तम्भलाई दुरुस्त राख्दै सीमा अपराध नियन्त्रणका लागि दुबै देशका सुरक्षाकर्मीबीच सहकार्य आवश्यक रहेको बताए । उनले लागुऔषध रोकथाम र अपराध नियन्त्रणका लागि सीमा सुरक्षा बलले एकीकृत रूपमा काम गर्नुपर्ने बताए ।
सशस्त्र प्रहरी बल, ३४ नम्बर गण कैलालीका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेले नेपालले जिम्मा पाएका २५ प्रतिशत भन्दा कम क्षति भएका स्तम्भहरूको मर्मत र सबै स्तम्भको रंगरोगन एक हप्ताभित्र सम्पन्न गरिने बताए ।
टीकापुर नगरपालिका वडा नम्बर–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले ७००, ७०५, र ७०७ नम्बरका स्तम्भ बाहेक अन्य स्तम्भ कर्णाली र मोहना नदीले बगाएको बताए । हराएका ७०४ नम्बरका स्तम्भ निर्माणका लागि पहल गर्नुपर्ने उनले बताए ।
कैलालीभरी १०१ सीमा स्तम्भको मर्मत र रंगरोगन गरिने कार्यक्रम रहेको उनले बताए । उद्घाटन कार्यक्रममा सीमा क्षेत्रका वडाध्यक्षहरू, जिल्ला सुरक्षा समिति, र भारतीय सुरक्षा बलका प्रतिनिधिहरूको उपस्थिति रहेको बताईएको छ ।