पौष २९ बैतडी । बैतडीको सीमा नाका झुलाघाटमा रहेको महाकाली भन्सारमा क्वारेनटाइन नहुँदा तरकारी ल्याउन समस्या हुने गरेको छ । सीमा नाकामामा क्वारेनटाइन मात्रै नभई अन्य वस्तु चेकजाँचका लागि समेत नेपाली सुरक्षाकर्मीसँग स्क्रिनिङ जस्ता कुनै उपकरण नहुँदा समस्या हुने गरेको हो । झुलाघाटमा रहेको सटही काउन्टर समेत बन्द हुँदा समस्या भएको छ ।
भारत तर्फको सीमा चेकपोस्टमा अन्तर्राष्ट्रिय विमानस्थल जतिकै सुरक्षा व्यवस्था गरिएको देख्न सकिन्छ । डिजिटल स्क्रिनिङ मेशिन, तालिम प्राप्त कुकुर र जनशक्ति तैनाथ गरिएको छ । नेपालतर्फको सुरक्षा पोस्टमा भने प्रविधिका नाममा एउटा टेबुल, रजिस्टर र डटपेन मात्र देखिन्छ ।
झुलाघाट सीमा नाकामा क्वारेनटाइन र डिजिटल स्क्रिनिङ मेशिन आवश्यक भएको बैतडीका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । नाकामा महाकाली भन्सार कार्यालय भए पनि क्वारेनटाइन नहुँदा भारतबाट भित्रिने खाद्यान्नको गुणस्तर र विषादी परीक्षण हुन नसकेको छैन ।
प्राविधिक कर्मचारी र उपकरण आवश्यक भएको कुरा विभागमा जानकारी गराइसकेको उनले बताए । विवाहको सिजनमा कार्ड देखायो भने तरकारी भित्रिन दिने गरेको झुलाघाट सीमा प्रहरी चौकीका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक गङ्गाराम टमटाले बताए ।
विवाहको सिजनमा कार्ड हेरेर मात्रै तरकारी भित्रिन दिने गरेको बताउदै उनले व्यावसायिक रूपमा तरकारी नआउँने बताए । नेपालबाट पहिले घिउ पैठारी हुने भए पनि अहिले भारतबाट घरायसी प्रयोजनका लागि दैनिक उपभोग्य वस्तु ल्याउने गरिएको छ । त्यसैगरी झुला घाट सीमा नाकाबाट रोजगारीका लागि भारत जानेको सङ्ख्या पनि बढ्न थालेको छ ।
दैनिक दुई सयको सङ्ख्यामा नेपालीहरू भारत जाने गरेका छन् । झुलाघाट सीमा प्रहरी चौकीको तथ्याङ्क अनुसार पुस १ गते देखि २७ गते सम्म दुई हजार पाँच सय नेपाली भारत गएका छन् । रोजगारीका लागि भारत जाने महिलाको संख्या पनि बढ्दै गएको छ ।
पुसमा मात्रै ८ सय ४६ जना महिला भारत गएका छन् । झुलाघाट नाका भएर भारतबाट समेत किनमेल र मन्दिर दर्शनका लागि पुस महिनामा ५ सय ५ जना भारतीय नागरिक नेपाल आएका छन् ।
नेपाल प्रवेश गरेका ५ सय ५ जना मध्ये ३ सय ७६ जना फिर्ता भएका छन् । अन्य भारतीय बैतडी नागरिकहरु सदरमुकाममा कपाल काट्ने, सिरक डसना बनाउने जस्ता ब्यापारीक कामका लागि बसेको पाइएको छ ।