पौष २८ धनगढी । कैलालीको गोदावरी धाममा लाग्ने बाह्र राशि मकर मेलाको तयारी पुरा भएको छ । विगतका बर्षहरू जस्तै यस वर्ष पनि पुस २९ गतेदेखि लाग्ने बाह्रराशी दर्शन मकर मेलाको तयारी पुरा भएको हो । मेलाका अवसरमा बाह्रराशी नवग्रह, सत्ताइस नक्षत्रको स्थापना तथा लक्ष्य हवन, विभिन्न पुराणहरू प्रारायण, ग्रह पूजा, ग्रह शान्ति, भजनकिर्तन, प्रवचन आदि हुने आयोजक गोदावरी धाम विकास समितिले जनाएको छ ।
गोदावरी विकास धाम समितिका अध्यक्ष पदम राज जोशीले २०७२ सालमा महाकुम्भ मेला लागेपछि त्यसयता प्रत्येक वर्ष १२ दिवसीय बाह्र राशि दर्शन मकर मेलाको आयोजना हुँदै आएको बताए । ‘यो एउटा लघु कुम्भ पनि हो । हाम्रो शास्त्रीय मान्यता अनुसार हाम्रो सम्पूर्ण ब्रमाण्डलाई बाह्र भागमा विभाजन गरेर बाह्र राशि विभाजन गरिएको छ ।
बाह्र राशिमध्ये कुम्भको योग कुनै एक राशिमा पर्ने र, त्यो ब्रमाण्डको जुनसुकै भागमा योग परेता पनि त्यसको एउटा अंश हामीले स्मृतिको रूपमा स्थापित गर्दै बाह्र राशि दर्शन मकर मेलाको आयोजना गर्दै आएका छौ’ उनले भने । ‘यो कुम्भ मेलाकै लघु रुपमा हो । कुम्भ मेला एक, सवा महिनाको हुन्छ भने यो बाह्र दिनको हुन्छ ।’ मकर मेलाको पुस २९ गते सोमबार दिउँसो १ बजे समुद्घाटन गरिने उनले बताए ।
मेलाको लागि गोदावरी नगरपालिका संरक्षकको भूमिकामा रहेको र नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, विभिन्न संघसस्था, सामाजिक व्यक्तित्वहरुको सहयोग गरेको उनले बताए । उनले २०८४ सालमा आयोजना हुन गइरहेको महाकुम्भ मेलाको प्रस्थान बिन्दुको शुभारम्भ पनि यसै वर्षबाट गर्न लागिएको बताए ।
उनले गोदावरीमा आउने प्रत्येक श्रद्धालुलाई सङ्कल्पकर्ताको रूपमा लिएर उनीहरूको सङ्कल्पबाटै २०८४ को महाकुम्भको आयोजना गर्ने तयारी गरिरहेको बताए । उनले मेलाको कुम्भ बाटिकामा दीप प्रज्वलन गरिने बताए । मेला माघ १२ गते सम्म सञ्चालन हुने उनले बताए ।
त्यसैगरी बाह्र राशि मकर मेलाको अवसरमा माघ १ गते गोदावरी नगरपालिकाले निःशुल्क बस सेवा सञ्चालन गर्ने जानकारी गराएको छ । नगरप्रमुख वीरेन्द्र भट्टले मेलालाई मध्यनजर गरी ५ वटा बस निःशुल्क उपलब्ध गराइने बताए । गोदावरीको गेटा, मालाखेती र स्याउलेबाट एक÷एक र अत्तरियाबाट २ वटा बस निःशुल्क रूपमा गोदावरी जानका लागि उपलब्ध गराउने गरी व्यवस्थापन गरेकोउनले जानकारी गराए ।
उनले बाह्र राशि मकर मेलाका लागि पनि तयारी भइरहेको बताउदै स्नान कुण्डको तयारी देखि बाटो निर्माणको काम भइरहेको बताए । उनले एम्बुलेन्स र स्वास्थ्य शिविरको पनि आयोजना गरिएको बताउदै मेलाको प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी गराए ।