पौष २८ धनगढी । चिसापानी–जंगलघाट मंगलसेन सडकको काम सुस्त गतीमा हुदै आएको छ । २०२४ साल चैत २४ गते सदरमुकाम मंगलसैनमा जिप बोकेर पु¥याएको उक्त सडकको काम सुस्त गतीमा हुदै आएको हो । सडकको अछाम खण्डमा १ सय १० किलोमिटर रहेको छ । पूर्वाधार विकास कार्यालय अछामका अनुसार चिसापानी–मंगलसेन सडक अन्तर्गत अछामको गैरिटाँड –कमलबजार–बाँसकाँडा २३ किलोमिटर सडकको गत वर्ष सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले शिलान्यास गरेका थिए ।
त्यसैगरी कैलाली क्षेत्रमा केही किलोमिटर कालोपत्र गरिएको छ । अछाम खण्डमा यस वर्ष २३ किलोमिटर कालोपत्र गरिने भएको छ । गैरिटाँड –कमलबजार–बाँसकाडा सडक २३ किलोमिटर सडकको आयोजनाको लागत ६९ करोड ४३ लाख ५३ हजार ९ सय ६६ रुपैयाँ रहेको छ । पूर्वाधार विकास कार्यालय साँफेबगर मार्फत पीके निमार्ण सेवा, घोराही दाङले ठेक्का पाई काम गरिरहेको छ ।
उक्त खण्डको कालोपत्र २०८२ पुस २९ गतेभित्र गरी सक्नुपर्ने सम्झौता रहेको छ । गैरीटाँड–बाँसकाडा सडकको काम छरितो रूपमा भए पनि तुर्माखाँद देखि चिसापानी सडक खण्डको ७६ किलोमिटर सडकमा अपेक्षा अनुसारको काम नभएको तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बिसीले बताए । ‘सडकमा काम हुँदै नभएको पनि होइन । छिटो छरितो भएको पनि छैन । जंगलघाटमा बन्ने पक्की पुलको प्रक्रिया बल्ल सुरु भएको छ । कछुवाको गतिमा काम भएको देखिन्छ,’ उनले भने ।
चिसापानी–जंगलघाट–मंगलसेन सडकले सुदूरपश्चिमका कैलाली, डोटी, अछाम र बाजुरा तथा कर्णाली प्रदेशका ४ जिल्ला जोड्ने उनले बताए । कुइनेको कर्णाली नदीमा पक्की पुल निर्माण पूरा भएको छ भने जंगलघाटको कर्णाली नदीमा पुल निर्माणको ठेक्का भएको छ । नीतिनिर्माताको ध्यानाकर्षण नहुँदा अहिले सम्म सडक आयोजनाले सार्थकता पाउन नसकेको बताईएको छ । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर–७ कारुवाका रुपबहादुर साउदले कर्णाली नदीको तीरैतीर तराईबाट पहाड जोड्ने उक्त सडक सबैभन्दा छोटो दूरीको राजमार्ग भएको बताए ।
समयमै राजमार्ग बन्न नसक्दा अछामका स्थानीय बासिन्दाले ३ सय किलोमिटर भन्दा बढी यात्रा गर्दै डडेलधुरा र डोटीहुँद अछाम पुग्नु पर्ने बाध्यता रहेको उनले बताए । अछामसँग जोडिएको बाजुरा, हुम्ला र कालीकोटका अधिकांश क्षेत्रमा जान पनि निकै लामो दूरीको यात्रा गर्नु पर्ने बाध्यता रहेको उनले बताए । चिसापानी,मंगलसेन सडक निर्माण भए २ सय किलोमिटरले छोट्टुीने उनले बताए ।
कैलाली र सुर्खेतका २२ वटा स्थानीय तह र अछामका लागि सडक महत्त्वपूर्ण मानीयको बताउदै उनले ट्रयाक खुलेपछि मोटरसाइकलबाट तराई पहाड यात्रा गर्नेहरू बढेको बताए । कच्ची सडक भएकाले दैनिक जसो दुर्घटना पनि हुने गरेको उनले बताए ।
अछामका पञ्चायतकालीन नेता हरिप्रसाद भण्डारीले कैलालीको चिसापानी–जंगलघाट–मंगलसेन सडकको अवधारणाको विकास गर्दै २०२४ साल चैत २४ गते सोही सडकबाट सदरमुकाम मंगलसेन सम्म जिप बोकेर पु¥याएका भए पनि अहिले सम्म सडक नबन्नु दुखद विषय भएको पहिलो पटक गाडी बोकेर मंगलसेन सम्म पु¥याउँदा नजिकैबाट नियालेर खुसियाली मनाउने मध्येका तुर्माखाँद गाउँपालिका वडा नम्बर–४ का ८१ वर्षीय नन्दबहादुर बुढाले बताए ।
करिब ५७ वर्षअघि तराईसँग पहाड जोड्ने छोटो दूरीको बाटो छिटो बन्नुपर्छ भन्ने सन्देश दिन २०२८ सालमा अछाम जिल्ला पञ्चायतका सभापति भण्डारीले कैलालीसँग सीमा जोडिएको भारतको तिकुनियाबाट जिप बोकाएरै मंगलसेन पु¥याएको उनले बताए । गाउँगाउँमा बाजागाजा सहित खुसियाली मनाउँदै र काँधमा गाडी बोक्दै , श्रमदान गर्दै मंगलसेनमा झन्डै ५७ वर्ष अघि जिप पु¥याइएको उनले बताए ।
त्यतिखेर आफु २४ वर्षको भएको बताउदै उनले अछाममा गाडी आउने भने पछि गाउँका थुप्रै मान्छेहरू हातमा कुटो कोदालो बोक्दै सडक खन्न स्वस्फूर्त गएको बताए । आफ्नो जीवनकालमा पहिलो पटक देखेको गाडी त्यही भएको बताउदै उनले सबैले पहिलो पटक गाडी देखेपछि फूलमाला लिएर गएको बताए । अहिले सडक कालोपत्र भएर गाडी गुड्नु पर्ने भए पनि काम नभएकोमा उनले दुख ब्यक्त गरे ।