पौष २६ बाजुरा । बाजुराको बडीमालिका नगरपालिकाका बाढीपीडितले पाँच वर्ष बित्दा पनि राहत रकम पाएका छैनन् । २०७७ साउन २५ गते बुढीगङ्गा नदीमा आएको विनाशकारी बाढीपहिरोबाट विस्थापित भएका पीडित नागरिकले अहिले सम्म राहत रकम नपाएका हुन ।
क्षतिपूर्तिका लागि बेला बेला प्रशासन धाउँदा पनि सुनुवाइ नभएको बाढीपीडितले गुनासो गरेका छन् । बाढीपीडितहरुले पहिलो किस्ताको पनि आधा रकम मात्र पाएको पीडित किसन कार्कीले बताए । पहिलो किस्तामै ५० हजार पाउनु पर्ने बताउदै उनले ३५ हजार मात्र दिएको बताए ।
बाढिपहिरोबाट विस्थापित भएको पाँच वर्ष पुगेको बताउदै उनले हालसम्म पहिलो किस्ताकै पुरा रकम नपाएको बताए । बाढीपहिरोबाट विस्थापित भएपछि जिल्ला प्रशासन कार्यालयमा राहतका लागि निवेदन दिएको बताए । सरकारले पूर्ण क्षति भएकालाई मात्र राहत दिने भए पछि प्रमाण पेश गर्न भनिएको उनले बताए ।
प्रमाण पेश गरेको भए पनि अहिले सम्म राहत तथा क्षतिपूर्ति रकम नपाएको उनले बताए । त्यसैगरी बाढीपीडित टीका नाथले सरकारले बाढीपीडितलाई घर बनाउनका लागि पाँच लाख सम्म दिने भनेर सबै विवरण सङ्कलन गरेर लगेको बताईन । रकम दिन्छ भनि विश्वास लागेकाले ऋण लिएर घर बनाएको बताउदै उनले हालसम्म रकम नपाए पछि पीडितहरूलाई झन् पीडा भएको बताईन ।
साहुले पैसा मागिरहेको बताउदै उनले पैसा नभएकाले ऋण तिर्न नसकेको बताईन । त्यसैगरी प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बडीमालिका नगरपालिकाका बाढीपीडित नागरिकका लागि विपत् व्यवस्थापन समितिले जम्मा ३७ परिवारलाई ३५ हजार रुपैयाँका दरले रकम भुक्तानी गरेको बताए ।
सङ्घीय सरकारबाट बजेट नआउँदा पीडित परिवारको राहत तथा क्षतिपूर्तिको रकम भुक्तानी गर्न नसकिएको उनले बताए । पीडित परिवारले घर निर्माणका लागि पाउनु पर्ने पाँच लाख रुपैयाँमध्ये ३५ हजार मात्र भुक्तानी भएको अधिकारी पाध्याले जानकारी गराए ।
बाढीबाट घरविहीन भएका परिवारको नामावली स्थानीयस्तरमा सङ्कलन गरेर पठाएको तथ्याङ्क अनुसार मनसुनजन्य विपत्का लागि १५ करोड रुपैयाँको माग गरेको उनले बताए । माग अनुसारको बजेट आउन नसकेको उनले जानकारी गराए । तत्काल मनसुनजन्य विपतका लागि भनेर छ करोड ४५ लाख रुपैयाँ आएको उनले जानकारी गराए ।