पौष २६ धनगढी । कैलालीको चुरे गाउँपालिकामा १४ दशमलव ८५ किलोमिटर सडक स्तरोन्नतिको काम गरिने भएको छ । विश्व बैंकको ऋण सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गत चुरे गाउँपालिकाको सहजपुर देखि निगाली सम्म १४ दशमलव ८५ किलोमिटर सडक स्तरोन्नति गरिने भएको हो ।
प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम प्रादेशिक आयोजना व्यवस्थापन इकाइ धनगढीका प्रमुख जगतराज जोशीले सहजपुर देखि गाउँपालिकाको केन्द्रसम्म सडक स्तरोन्नति हुने जानकारी गराए ।
सहजपुरदेखि चुरे गाउँपालिकाको केन्द्रसम्म साढे छ मिटर चौडाइ र त्यसपछि सिङ्गल लेन सडक कालोपत्र हुने उनले जानकारी गराए । उक्त सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान गरी सम्झौता प्रक्रिया अन्तिम चरणमा पुगेको आयोजना व्यवस्थापन इकाइ कार्यालय धनगढीले जानकारी गराएको छ ।
इकाइ प्रमुख जोशीले सडक क्षेत्रमा पर्ने रूख कटानका लागि आवश्यक प्रक्रिया सुरु गरिएको र उक्त काम सकिए पछि सडक स्तरोन्नतिको काम सुरु गरिने बताए । त्यसैगरी, चुरे गाउँपालिका क्षेत्रभित्र ‘ट्र्याक’ खोलिएका कच्ची सडकलाई बाह्रै महिना सञ्चालनका लागि स्तरोन्नतिको काम भइरहेको बताईएको छ ।
चौमाला–गर्भा दरबार, चौमाला–खैराला, सहजपुर–अलाड निगाली, देउराली–मौरे सडकको ठेक्का सम्झौता भई स्तरोन्नतिको काम भइरहेको गाउँपालिकाका इन्जिनियर उमेशराज जोशीले बताए । चुरे गाउँपालिका स्थित छवटै वडा गाउँपालिकाको केन्द्रसँग सडक सञ्जालले जोडिएकाले क्रमशः सबै सडकको स्तरोन्नति गर्दै जाने गाउँपालिकाको नीति रहेको उनले बताए ।