पौष २६ धनगढी । आधारभूत मानवीयता सिद्धान्त र विपद् जोखिम न्यूनिकरण र व्यवस्थापन सम्बन्धि ३ दिने तालीम कैलालीको धनगढीमा सम्पन्न भएको छ । बुधबार सुरु भएको आधारभूत मानवीयता सिद्धान्त र विपद् जोखिम न्यूनिकरण र व्यवस्थापन सम्बन्धि ३ दिने तालीम शुक्रबार सम्पन्न भएको हो ।
युएसएआईडी–वीएचएको आर्थिक सहयोग,केयर नेपाल र राष्ट्रिय वातावरण तथा समविकास समाज नेपाल निड्सको सहकार्यमा सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लाका १८ पालिका र २५ वटा नागरिक समाज संस्थाहरुसंगको समन्वयमा सुधार परियोजना अन्र्तगत तालीम सम्पन्न गरिएको हो ।
१५ जुलाई २०२४ देखि १४ जनवरी २०२६ सम्मका लागि कार्यान्वयन भइरहेको सुधार परियोजना अन्र्तगत तालीम सम्पन्न गरिएको परियोजनका कार्यक्रम संयोजक प्रेम बहादुर लुहारले जानकारी गराए ।
परियोजनाको प्रमुख लक्ष्य विपद् ब्यस्थापन र मानवीय सहायता कार्यका लागि स्थानीय स्तरमा कार्यरत नागरिक समाज संस्था, महिला अधिकारवादी संस्था, महिलावादी संस्था तथा अन्तरवर्गीय संस्थाहरुको क्षमता सवलीकरण गर्दै स्थानीय संघसंस्था तथा महिलाको नेतृत्वमा मानवीय सहायता पूर्वतयारी र लैगिंक मैत्री प्रतिकार्य गर्न सक्षम बनाउने रहेको उनले जानकारी गराए ।
त्यसैगरी स्थानीय सरकारको नेतृत्वमा विपद् ब्यवस्थापन सूचना तथा समन्वय संयन्त्र निर्माण गर्ने पनि परियोजनको लक्षय रहेको उनले जानकारी गराए । परियोजनाको थप उद्देश्य सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लामा रहेका २४ वटा स्थानीय संस्थाहरुको विपद् जोखिम ब्यवस्थापन क्षमता अभिबृद्धि गर्दै दिगो विपद् ब्यवस्थापन तथा मानवीय सहायताकार्यलाई स्थानीयकरण गर्नु रहेको समेत उनले जानकारी गराए ।
परियोजना अन्तर्गत सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लाका १८ वटा स्थानीय तहमा कार्यक्षेत्र रहेका २५ वटा संस्थाबाट २६ जना र पालिकाहरुबाट ५ जनागरी जम्मा ३१ जनालाई ३ दिने आधारभूत मानवीयता सिद्धान्त र विपद् जोखिम न्युनिकरण र व्यवस्थापन सम्बन्धि तालीम दिएको उनले जानकारी गराए ।
यही पौष २६ गतेका दिन देखि सुरु गरिएको तालीमको उदघाटन समारोहको अध्यक्षता निड्स नेपालकी सहसचिव दुर्गा मल्लले गर्नु भएको थियो भने प्रमुख अतिथी आन्तरिक मामिला तथा कानून मन्त्रालय, सुदूरपश्चिम प्रदेशका विपद् जोखिम सम्पर्क ब्यक्ति दिपेन्द्र सिह बिष्ट रहेका थिए ।
त्यसैगरी निड्स नेपालका बिनोद सिँह कडाराले उद्घाटन समारोहमा उपश्थिीत सहभागीहरुलाई स्वागत मन्तब्य मार्फत स्वागत गर्दै संस्थाको बारेमा जानकारी गराएका थिए । कार्यक्रम सञ्चालन गर्नुका साथै परियोजनाको बारेमा प्रेम बहादुर लुहारले जानकारी गराएका थिए ।
तालीमको सहजीकरण डीपीएनईटी नेपालका कोषाध्यक्ष केशवदत्त भट्टले गरेका थिए । त्यसैगरी शुक्रबार सम्पन्न तीन दिने तालीमको समापन कार्यक्रमको अध्यक्षता निड्स नेपालकी अध्यक्ष दुर्गा खरेलले गरेकी थिईन भने अथिति निड्स नेपालका सहसचिव दुर्गा मल्ल रहेका थिए । केयर नेपालका मान बहादुर डागीले कार्यक्रमको बारेमा थप जानकारी गराएका थिए ।