पौष २५ बैतडी । बैतडीका एक जना युवक भारतमा मृत भेटिएका छन् । बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर–१ गुरुखोलाका २६ बर्षीय टेकेन्द्र धामी भारतमा मृत भेटिएका हुन ।
रोजगारीको सिलसिलामा ६ महिना अघिमात्रै कतार पुगेका धामी भारतको बाटो हुँदै घर फर्कने क्रममा भारतको मुरदावादमा मृत अबश्थामा भेटिएका हुन । मृतकका काका शेरबहादुर धामीले रोजगारीका लागि कतार पुगेका धामीमा मानसिक समस्या देखिएको जानकारी गराए ।
कतारमै उपचार गराएर केही निको भएपछि घर पठाइएको उनले बताए । कम्पनीले कतारबाट दिल्ली हुँदै काठमाण्डौंको टिकट काटेको भए पनि उनी दिल्लीबाट जहाज नचढेर सडकको बाटो घर फर्किरहेको बताए ।
दिल्लीबाट गाडीमा चढेका धामी गाडीमा तेल हाल्ने बेला भागेको र खोजी गर्दा मृत भेटिएको बताइएको छ । भारतीय प्रहरीको सहयोगमा खोजी गर्दा धामी बुधबार बिहान मृत भेटिएका हुन । मृतक धामीको घरमा श्रीमति र एक छोरी रहेकी छन् ।