पौष २५ बाजुरा । बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने दुर्गम बस्तीका बासिन्दा लामो समय देखि इलाका प्रशासन कार्यालय स्थापनाको पर्खाइमा रहेका छन् । बाजुराको हिमाली, जगन्नाथ, स्वामीकार्तिक, बुढीनन्दा लगायतका पालिकावासीका लागि बुढीनन्दा नगरपालिका वडा नम्बर–२ को कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना हुँदा निकै सहज हुने भएकाले उनीहरु पखाईमा रहेका हुन ।
कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापनाका लागि स्थानीयले पटक पटक जिल्ला प्रशासन कार्यालय बाजुरामा माग गर्दै आएका भए पनि अझै पूरा नभएको उनीहरुले बताएका छन । स्थानीयलाई नागरिकता, पासपोर्ट, राहदानी लगायतका विभिन्न सरकारी कामकाजका लागि दुई दिनको पैदल बाटो हिँडेर सदरमुकाम मार्तडी आवछ जावत गर्नुपर्ने बाध्यता रहेको उनीहरुले बताएका छन ।
पहिला तीन दिनको पैदल हिँडेर मार्तडी आउने गरेका स्थानीय गाडीको सुविधा पाएपछि पनि चार घण्टाको समयमा घर देखि मार्तडी सम्म पुग्ने गरेका छन । विभिन्न बैङ्कमा आर्थिक कारोबार गर्नका लागि सदरमुकाम मार्तडी जानु पर्ने भएपनि अहिले सबै सुविधा पालिकामै भएकाले पनि सहज भएको उनीहरुले बताएका छन ।
कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि स्थानीयलाई नागरिकता बनाउन समेत सहज हुने हिमाली गाउँपालिकाकी स्थानीय हिरा साकीर्ले बताए । कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना भएको भए स्थानीयलाई बिहान घरदेखि मार्तडी र बेलुकी मार्तडी देखि घरमा पुग्न सहज हुने उनले बताए ।
स्थानीयको आर्थिक भार पनि कम हुने उनले बताए । अहिले नयाँ नागरिकता तथा प्रतिलिपि निकाल्नु परेमा स्थानीयलाई अनिवार्य सदरमुकाम मार्तडीमा जानुपर्ने बाध्यता भएकाले आर्थिक भार बढ्दै गएको उनल बताए ।
पैसा हुनेले मार्तडी गएर नागरिकता बनाउने गरेको बताउदै उनले पैसा नहुने नागरिकता पाउनबाट वञ्चित भएको उनले बताए । जिल्ला सदरमुकाम मार्तडी देखि कोल्टी सम्मको दुरी झण्डै ४२ किलोमिटर भएको उनले बताए । हिमाली, जगनाथ, स्वामीकार्तिक लगायतका स्थानीयलाई अझै पनि एक दिनको पैदलयात्रा हिड्नु पर्ने बाध्यता रहेको उनले बताए ।