पौष २५ बझाङ । बझाङको सदरमुकाम चैनपुरका बादी समुदायको विजुली र खानेपानीको लाईन काटिए पछि समस्या भएको छ । विजुली र पानीको विल तिर्न नसक्दा लाईन काटीए पछि बादी समुदायलाई पाँच महिना देखि विजुली र पानी नपाएर समस्या भएको हो । स्थानीय किट्टी बादीले विद्युत महसुल बापतको ९ सय ८० रुपैयाँ तिर्न नसके पछि विद्युत लाइन काटिएको बताईन ।
त्यसपछि पाँच महिना देखि अन्धकारमा बस्न बाध्य भएको उनले बताईन । किट्टी जस्तै स्थानीय सात घरपरिवारले रकम बुझाउन नसक्दा लाईन काटिएर पाँच महिना देखि अध्यारोमा बस्न बाध्य भएका छन । स्थानीय मीरा बादीको सबैभन्दा धेरै ७ हजार ६ सय ४० रुपैयाँ बक्यौता रहेको बताईएको छ । बक्यौता रकम नतिरेपछि उनीहरुले प्रयोग गर्दै आएको खानेपानीको धारा पनि काटिएको छ ।
भूकम्पले चर्किएको घरमा बसिरहेका बादी समुदायले पानी र बत्तीसमेत नहुँदा थप समस्यामा परेका छन । खानेपानीको धारा काटिए पछि सेती नदीबाट पानी ल्याएर खाने गरेको हरिना बादीले बताईन । थोरै रकम तिर्न नसक्दा घरको बत्ती र खानेपानी काटिएको उनले सुनाईन । लाईन काटिएपछि अँध्यारोमा बस्न र खोलाको पानी खान बाध्य भएको उनले बताईन ।
त्यसैगरी राधा बादीले बादीे समुदायलाई सरकारले ध्यान नदिएकाले जीवन कष्टकर बन्दै गइरहेको बताईन । पानी र बत्ती नहुँदा दैनिकी कष्टकर बनेको बताउदै उनले बिजुलीको लाइन काटिए पछि अँध्यारोमा बस्न बाध्य भएको बताईन । प्रति परिवार २ देखि ४ हजार सम्मको बिल पुगेको बताउदै उनले तिर्न नसकिएका कारण लाइन काटिएको बताईन ।
नेपाल विद्युत प्राधिकरण बझाङका प्रमुख सुजन खड्काले विद्युत महसुल तिर्न नसकेकाले लाइन काटिएको बताए । तत्काल विद्युत जोड्न महसुल बुझाउनु पर्ने अथवा सरकारले मिनाहा गर्नुपर्ने उनले बताए । मन्त्रिपरिषद्को निर्देशन आए पछि मात्र लाइन जोड्न सकिने उनले बताए । अन्यथा महसुल तिरेपछि मात्रै सेवा उपलब्ध गराइने उनले बताए ।
२०७६ सालदेखि मिटर जोडेको उक्त बस्तीमा केहीले अहिले सम्म शुल्क नदिएको उनले बताए । स्थानीयले खानेपानीको महसुल नतिर्दा पानी पिउन नपाएको बताए पनि खानेपानी उपभोक्ता समितिका अध्यक्ष लोकेन्द्र विष्टले पानी खेर फाल्ने गरेकाले पानीको लाइन काटिएको बताए । महसुल नतिरेको भन्दा पनि व्यवस्थापन नगरेकाले काटिएको उनले बताए ।
पानी व्यवस्थापन गरी उपभोग गर्न सहमत भए लाइन पुनः जोडिने उनले बताए । सदरमुकाम भित्रका अन्य टोलहरूमा झिलिमिली बत्ती बल्दा बादी बस्ती भने अन्धकारमा रात काट्न बाध्य भएको छ । पानी र बत्तीविना पाँच महिना बिताउँदा पनि राज्यले आफ्नो समस्यामा चासो नदिएको बादी समुदायले गुनासो गरेका छन ।