पौष २४ धनगढी । कैलालीको चौकीडाँडा–फल्टुडे सडक निर्माणको काम चार वर्ष देखि अलपत्र परेको छ । पूर्वाधार विकास कार्यालय, धनगढीले २०७७ सालमा गोदावरी नगरपालिका वडा नम्बर–१० को कृष्ण मन्दिर–बाँन्द्रेखाल सडक निर्माणका लागि ठेक्का सम्झौता गरिएको भए पनि निर्माणकार्य चार वर्ष देखि अलपत्र परेको हो ।
चौकीडाँडा हुँदै फल्टुडे जोड्ने सडक निर्माणको काम अलपत्र परेको हो । पूर्वाधार विकास कार्यालय कैलालीले थेगिम÷सनलाइट जेभीसँग साढे २ किलोमिटर सडक निर्माणका लागि ठेक्का सम्झौता गरेको भए पनि निर्माणकार्य चार वर्ष देखि अलपत्र छ । स्थानीय भोजराज भट्टले भोजराज भाटको घरदेखि वडा कार्यालय सम्मको सडक चार वर्षदेखि अलपत्र परेकोे बताए ।
पूर्वमन्त्री भाटको घरदेखि माथि, वडा कार्यालय तलको सडकको ठेक्का भएको चार वर्ष भएको बताए । प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायरले पाँच वर्षमा फल्टुडे सम्म सडक पुगाउछु भनेको सम्झदै उनले तीन वर्ष सम्म पनि पुरा नभएको बताए । गोदावरी नगरपालिका वडा नम्बर–१० को ओलानी क्षेत्रको दुई दशमलव पाँच किलोमिटर सडक कालोपत्र गर्न पाँच करोड ८४ लाख २५ हजारमा सम्झौता गरिएको उनले बताए ।
सम्झौताको समय अवधि २०८१ असार २५ मा सकिएको बताउदै उनले सडक निर्माणको काम आधा पनि नभएको बताए । निर्माण कम्पनीले माटो भरानको काम गर्दै आएको उनले बताए । गोदावरी नगरपालीका वडा नम्बर–११ का स्थानीय लक्ष्मण जोशीले साइकल र मोटरसाइकल चलाउन समेत समस्या हुने गरेको बताए । ठुला–ठुला गाडिहरु चल्ने भएकाले स्थानीय हैरान भएको उनले बताए ।
पूर्वाधार विकास कार्यालय, कैलालीले २०७९ चैत्र १७ गते दोस्रो ठेक्का सम्झौता गरेको उनले बताए । तीन दशमलव एक किलोमिटर सडक कालोपत्र गर्न ६ करोड ६१ लाख ४१ हजारमा ठेक्का सम्झौता भएको थियो । उक्त खण्डको सडक निर्माणको काम ३० प्रतिशत पनि पूरा नभएको उनले बताए ।
स्थानीय चन्द्र ताम्राकारले धुलोका कारण बिराम हुने गरेको बताउदै साइकल समेत प्यान्चर हुने गरेको बताए । २०५० साल देखिको सडक भएको बताउदै उनले अहिले सम्म कालोपत्र नभएको बताए । चौकीडाँडा–फल्टुडे सडकको काम अलपत्र पार्ने निर्माण कम्पनीहरुलाई प्रदेश सरकारले कारबाही समेत गर्न नसकेको उनले बताए ।
पूर्वाधार कार्यालय, कैलालीका सूचना अधिकारी विनोद खण्डकाले पहिलो ठेक्काको समय अवधि थप नगरिएको बताए । ५० प्रतिशत मात्र काम भएको बताउदै उनले संघीय सरकार मातहतको सडक डिभिजन कार्यालयले ठेक्का सम्झौता गरेको सडक खण्डको कालोपत्रको काम पुरा भएको जानकारी गराएको छ ।