पौष २२ बझाङ । बझाङमा रातो नम्बर प्लेट भएका १७ वटा जीपका चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । यात्रु ओसार पसार गरेको पाइए पछि १७ वटा जीपका चालकलाई कारवाही गरिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङका प्रमुख विनोद विष्टले निजी प्रयोजनका लागि किनिएका सवारी साधन सार्वजनिक यातायातका रूपमा प्रयोग गरिएको पाइए पछि नियन्त्रणमा लिएर कारबाही गरिएको बताए ।
जीपहरूलाई कालो नम्बर प्लेटमा दर्ता गर्न पर्याप्त समय दिएको बताउदै उनले अटेर गरेपछि कारवाही गरिएको जानकारी गराए । बझाङ जिल्लामा ट्राफिक प्रहरीको जनशक्ति कम हुँदा पूर्ण निगरानी गर्न कठिन भएको उनले बताए ।
११ जनाको दरबन्दी भए पनि अहिले ८ जनामात्रै कार्यरत भएको बताउदै उनले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन १५ जना जनशक्ति चाहिने बताए ।
यातायातका साधनको पनि अभाव भएको बताउदै उनले ट्राफिक प्रहरीले रातो नम्बर प्लेट भएका जीपलाई नियम अनुसार चलाउन र सार्वजनिक यातायातका रूपमा सञ्चालन गर्ने भए कालो नम्बर प्लेट हालेर दर्ता गराउन आग्रह गरेको उनले बताए ।