पौष २२ कञ्चनपुर । कृष्णपुर नगरपालिकाको स्वास्थ्य शाखाले सिकलसेल एनिमिया र थालेसिमिया रोग पहिचान तथा निदानका लागी स्वास्थ्य शिविरको आयोजना गरेको छ । निमेष सामुदायिक अस्पताल गुलरियाको प्राविधिक सहयोगमा नगरपालिकाको स्वास्थ्य शाखाले वडा नम्बर ८ स्थित रैकवार बिचवा स्वास्थ्य चौकीमा शिविरको आयोजना गरेको हो ।
थारु समुदायलाई लक्षित गरी आयोजना गरिएको शिविरमा सोमबार बिहानैदेखि स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी,र स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो । शिविरमा नगरप्रमुख हेमराज ओझा र उपप्रमुख द्रोपती रानाको नेतृत्वमा जनप्रतिनिधिहरूको टोलीले निरन्तर अनुगमन गरिरहेका थिजए ।
शिविरले सिकलसेल एनिमिया र थालेसिमिया जस्ता गम्भीर र विरलै पहिचान हुने रोगहरूको परीक्षण र निदानका लागि थारु समुदायका सबैलाई सुनौलो अवसर प्रदान गरेको बताईएको छ । स्वास्थ्यकर्मीको टोली उपकरण र विशेषज्ञ ज्ञान सहित सेवामा जटेको थियो ।
नगर प्रमुख हेमराज ओझाले शिविरको औपचारिक उद्घाटन गर्दै स्वास्थ्य शिविरले स्थानीय समुदायलाई दीर्घकालीन फाइदा पु¥याउने बताए । समुदायको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको बताउदै उनले शिविरले समुदायमा सचेतना र रोग पहिचानका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए ।
स्वास्थ्य शाखाले शिविरमा सहभागी भएर आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिई आवश्यक परामर्श लिन सबैलाई आग्रह गरेको छ । शिविरको प्रारम्भ देखि स्थानीय वासीको उत्साहजनक सहभागिता रहेको बताइएको छ ।
शिविरमा स्वास्थ्य परीक्षणसँगै स्वास्थ्य शिक्षा, परामर्श, र रोग नियन्त्रण सम्बन्धी जानकारी समेत उपलब्ध गराइएको थियो । थारु समुदायलाई लक्षित गर्दै सञ्चालन गरिएको शिविरले सिकलसेल र थालेसिमिया रोगको पहिचान गर्न सहज हुने बताईएको छ ।