मंसिर २४ धनगढी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा वर्षासँगै हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । सुदूरपश्चिम प्रदेशका उच्च लेकाली क्षेत्रमा वर्षासँगै हिमपात हुँदा जनजीवन प्रभावित भएको हो । दार्चुलाको ग्वाल्लेक खोड्पे, अनारखाली, ढोल्यामोड, सिगास, मेलौलील गायतका उच्च लेकाली स्थानमा हिमपात भएको बैतडीका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी गराए । उनले बैतडीसँगै, डडेल्धुरा, डोटी लगायतका पहाडी जिल्लाका उच्च लेकाली भेगमा हिमपात भएको जानकारी गराएका हुन ।
हिमपात र वर्षाका कारण चिसो बढेको बताउदै उनले चिसोका कारण जनजीवन प्रभावित हुँदै गएको
बताए । दैनिक ज्याला मजदुरी गर्ने मजदुर, बालबालिका र वृद्धवृद्धा चिसोका कारण बढी प्रभावित भएको उनले जानकारी गराए । उनले वर्षा र हिमपात भएपछि किसान हर्षित भएको बताए । खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भएकाले किसान हर्षित भएको उनले बताए । त्यसैगरी दार्चुलाको उच्च पहाडी भेगमा आइतबार देखि मौसममा आएको परिवर्तनसँगै जिल्लाकान विभिन्न क्षेत्रमा हिमपात भएको छ ।
दार्चुलाको अपिहिमाल गाउँपालिका र व्यास गाउँपालिकाका विभिन्न स्थानसहित जिल्लाको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको हो । हिमपातसँगै बढेको चिसोले अपिहिमाल क्षेत्रको जनजीवन प्रभावित भएको अपिहिमाल गाउँपालिकाका स्थानीय कमला बोहराले जानकारी गराइन । त्यस्तैगरी दार्चुलाकोे विभिन्न ठाउँमा हल्का वर्षा भएको उनले जानकारी गराइन । त्यसैगरी बाजुरामा आइतबार रातिदेखि वर्षासँगै हिमपात सुरु भएको उनले जानकारी गराइन ।
मौसम बदली भएर वर्षा सुरु भएसँगै लेकाली भेगमा हिमपात सुरु भएको उनले जानकारी गराइन । दार्चुलाको हिमाली गाउँपालिकाको बिच्छ्या, रुगीन, बाँधु, स्वामीकार्तिको जुकोट, जगन्नाथ गाउँपालिकाको गोत्री क्षेत्रमा हिमपात सुरु भएको वडा नम्बर ६ का स्थानीय जयप्रसाद पाण्डेले जानकारी गराए । त्यसैगरी गौमुलको दहकोट, मानाकोट, बूढीनन्दाको कुरु, पाण्डुसैन, खप्तड छेडेदहको काँडा, जयबागेश्वरी, बडीमालिका रजाली, मार्तडी, ढम्कने लगायत क्षेत्रका अग्ला भागमा हिमपातले डाँडा सेताम्मे भएको उनले जानकारी गराए ।
धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका, पोरखे लेक, कालाजग्रा, दह डाँडा, बडालेख, खप्तड राष्ट्रिय निकुञ्जमा पनि हिमपातले छोपेको उनले बताए । सदरमुकाम मार्तडी आसपासमा पनि हिमपात भएको बडीमालिका वडा नम्बर ३ का स्थानीय कमल रावलले जानकारी गराए । वर्षासँगै हिमपात भएपछि कृषक खुसी भएको उनले बताए । पानी नपर्दा गहुँ बाली सुक्न थालेका बेला वर्षा आएपछि किसानलाई राहत पुगेको कृषि ज्ञान केन्द्र बाजुराले जानकारी गराएको छ । त्यसैगरी डोटीमा यस वर्षको पहिलो पटक हिमपात भएको छ ।
डोटीको बडीकेदार गाँपालिका आसपासमा हल्का वर्षासँगै हिमपात भएको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउदले जानकारी गराए । उनले आइतबार बेलुकी देखि हल्का वर्षसँगै हिमपात भएको जानकारी गराए । उनले १ फिट भन्दा बढि हिउँ जमेको जानकारी गराए । वर्षा र हिमपात भएपछि बालीनालीका लागी सिँचाई भएको बताउदै उनले लगाउने बालीनालीका लागि अनुकूल वातावरण सिर्जना भएको बताए ।
जल तथा मौसम विज्ञान विभागले डोटीको पश्चिम सेती केन्द्रमा ६ घन्टाको अवधिमा १.८ र दिपायलमा १ मिलिमिटर वर्षा भएको जानकारी गराएको छ । वर्षा र हिमपातसँगै तापक्रम घट्दा जनजीवन प्रभावित भएको मौसम विज्ञान विभागले जानकारी गराएको छ ।