मंसिर १७ दार्चुला । नेपाल–भारत जोड्ने दार्चुलाको असिगडा मोटरेबल पुल निर्माणको कार्य सम्पन्न भएको छ । नेपाल–भारत जोड्ने १ सय १० मिटर लम्बाइको मोटरेबल स्टिल ब्रिज निर्माणको काम सम्पन्न भएको हो । असिगडा पुल निर्माण भए पछि कञ्चनपुर पछि दोस्रो मोटरेबल नाका बनेको छ । पुल निर्माणको काम भारतीय पक्षले गरेको हो ।
दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर–८, असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धार्चुला तहसिल बलुवाकोट नजिकको छारछुम क्षेत्र जोड्ने मोटरेबल पुलको काम यही मङ्सिर पहिलो साता सकिएको हो । भारतीय कम्पनी पी एन्ड आर इन्फ्राले पुल निर्माण गरेको हो । पुलको लागत ३२ करोड ९८ लाख भारतीय रुपियाँ रहेको भारतीय सञ्चारकर्मी सुरेन्द्र आर्यले बताए । पुल निर्माणको काम सम्पन्न भए पछि नेपाल र भारतका धार्मिक, पर्यटकीय क्षेत्र र व्यापार व्यवसायमा टेवा पुग्ने छ ।
पुल निर्माणको काम सकिए पछि नेपालतर्फको १५० मिटर सडक सम्याएर स्तरोन्नतिको काम भइरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए । प्रमुख जिल्ला अधिकारी जोशीले पुल सञ्चालनका लागि दुई देशका उच्च अधिकारीले संयुक्त रूपमा उद्घाटन गरेपछि सञ्चालनमा आउने बताए । पुलका दुवैतर्फ छिट्टै नेपाल–भारतका सुरक्षाकर्मीको चेक पोस्ट बस्ने उनले बताए ।
पुलबाट भारतको धार्चुला हुँदै पिथौरागढ, हलद्वानी भएर टनकपुर र भारतको राजधानी नयाँ दिल्लीसम्म पुग्न सकिने बताईएको छ । त्यसैगरी नेपाल तर्फको दार्चुलास्थित मालिकार्जुन धाम, अपि नाम्पा, बैतडीको त्रिपुरासुन्दरी, पातालभुमेश्वर गुफा लगायतका क्षेत्र हुँदै भारतीय पर्यटकले कैलाली र कञ्चनपुर सम्मको यात्रा गाडीमै गर्न सक्ने बताईएको छ ।
नेपाल–भारत जोड्ने बैतडीको झुलाघाट मोटरेबल पुलको चर्चा भने सेलाएको छ । झुलाघाट मोटरेबल पुल निर्माणका लागि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच लिखित सहमति भए पनि पुल निर्माणको कुनै सुरसार देखिएको छैन ।
गएको सङ्घीय निर्वाचनमा तीन ठुला राजनीतिक दल नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधान मन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधान मन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैतडीको पाटनमा आयोजित फरक फरक चुनावी सभामा झुलाघाट पुल छिटै निर्माण हुने आश्वासन दिएका थिए ।