कार्तिक २० धनगढी । कृषी र पर्यटनको प्रचुर सम्भावना बोकेको कैलाली जिल्लाको पुरानो सदरमुकाम भजनी ओझेलमा परेको छ । कृषी र पर्यटनको प्रचुर सम्भावना हुँदाहुँदै पनि सरकारको ध्यान नजादा कैलाली जिल्लाको पुरानो सदरमुकाम भजनी ओझेलमा परेको हो । भजनी नगरपालीकाका नगर प्रमुख केव सिह चौधरीले विसं २०३८ साल सम्म जिल्लाका कतिपय कार्यालय भजनीमै रहेको बताउदै त्यति बेला निर्माण भएका कैयौँ संरचनाको अंश आजका दिनमा पनि देख्न सकिने बताए ।
पुरानो सदरमुकामका बासिन्दा केही दशक देखि प्राकृतिक विपद् लगायत चुनौतीसँग लड्न र जुध्न बाध्य भएको बताउदै उनले वर्षायाममा हुने बाढी, नदी कटान र डुबानको समस्या चुनौतीका रुपमा रहेको जानकारी गराए । बाढी डुबानले सयौँ परिवार विस्थापित हुने गरेको बताउदै उनले चारैतिरबाट नदीले घेरिएको भजनी बजारका लागि कान्द्रा, मोहना, काढा र पथरैया नदी बाढीको जोखिम निम्त्याउने कारण बनेको बताए ।
बाढी र डुबानको समस्यालाई दिगो रूपमा समाधान गर्न सक्यो भने भजनीको विकासले फड्को मार्न सक्ने नगर प्रमुख चौधरीले बताए । नगरपालीकाको स्रोतले भजनीलाई ओभानो राख्न सक्ने स्थिति नभएको बताउदै उनले केन्द्र र प्रदेश सरकारले भजनी बासीको पीडालाई बुझ्न र महसुस गर्न नसकेको बताए । स्थानीय नदी तथा खोलाको सतह बर्षेनी बढ्दै गएकाले सामान्य वर्षामा भजनी डुबानको चपेटामा पर्ने गरेको उनले बताए ।
त्यसैगरी नगरपालिकाका प्रवक्ता बिक्रम चौधरीले जमेको वर्षाको पानी थुनिने गरी हुलाकी राजमार्ग निर्माण हुँदा डुबानको समस्या हुने गरेको बताए । अन्तर्राष्ट्रिय सीमा देखि करिव १० किलोमिटरको दूरीमा रहेको भारतको घाँघरा नदीमा बनेको बाँधका ढोका बन्द गरिँदा पनि कैलालीको दक्षिणपूर्वका भजनी सहितका क्षेत्र डुबान हुने गरेको उनले बताए । डुबान र नदी कटानकै कारण कतिपय गाउँका वस्तीलाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने स्थानीयले बताएका छन ।
कुनै समयमा भारत, बङ्गलादेश, श्रीलङ्का लगायतका देशमा चामल निर्यात गर्न देशमै स्थान बनाएको भजनीको राइस मिल बन्द भएको लामो समय भइसकेको उनले बताए । नजिकको सीमा क्षेत्रमा सञ्चालनमा रहेका दुई वटा भन्सार कार्यालय मध्ये कुसुमघाट भन्सार कार्यालय बन्द भइसकेको बताउदै भजनीवासीका दुःख हटाउन नदी नियन्त्रण सम्बन्धी बृहत् गुरुयोजना बनाएर अघि बढ्नुपर्ने नष्गर प्रमुख चौधरीले बताए । उनले प्रदेश र सङ्घीय सरकारसँग पहल गरिरहेको बताए ।
त्यसबेलाको केन्द्र शासनसँग समन्वय गरेर चिसापानी देखि दक्षिण भजनी लालभोझी सम्मको क्षेत्रलाई जिल्ला कायम गरी सरकारी कामकाज सुरु गराउने स्वर्गीय सुब्बादिलीप सिंह मल्लको भूमिकालाई भजनीवासीले आज पनि नबिर्सेको उनले बताए । स्वर्गीय दिलीपसिंह मल्ल सुदूरपश्चिम प्रदेशका प्रथम प्रदेश प्रमुख स्व मोहनराज मल्लका बुवा हुन । त्यो बेला मल्लहरू त्यस क्षेत्रको ठूला जमिनदार भएको र सबै राजकाज मल्लहरूकै चल्ने गरेको स्थानीयले बताएका छन । त्यस ठाउँमा बसोबास गर्ने मल्ललाई भजनीको रैथाने पनि भन्ने गरेको उनले बताए ।
स्थानीय प्रदीप मल्लका अनुसार भजनीमा डगौराथारु र मल्लको बसोबास सँगसँगै भएको पाइन्छ । म २०१६ सालमा भजनीमै जन्मिएको हुँ, मलाई थाहा छ त्यो बेला सरकारी अड्डा, थाना, खाद्य, सहकारी सबै कार्यालय भजनीमै थिए । स्थानीय समाजसेवी हेमेन्द्र भारद्धाजले आज पनि केही संरचनाको अवशेष बाँकी रहेको बताए । बर्दिया भन्दा पश्चिम एकमात्र स्वस्थ्य केन्द्र भजनीमा रहेको उनले बताए ।
त्यसबेलाको टेलिफोनको टावर आज पनि भएको उनले बताउदै कृषि सहकारीको खाद्य गोदाम पनि भएको बताए । विसं २०१५ सालमा उक्त क्षेत्रमा भजनी निम्न माध्यमिक विद्यालय स्थापना भएको उनले बताए । विसं २०३५ सालमा उक्त विद्यालयको नाम परिवर्तन गरी महुन्याल बनाइएको भारद्धाजले बताए । सुदूरपश्चिमको पश्चिम तराईका कञ्चनपुर र कैलाली जिल्ला त्यतीबेला सुवर्ण शमशेरको बिर्ता भएको सुनीन आएको उनले बताए ।
त्यसबेला कैलाली जिल्लालाई चार भागमा विभाजन गरेर शासन प्रशासन चलाइने गरेको बताइन्छ । कैलालीको दक्षिणपूर्वी खक्रौला देखि टीकापुर लम्कीहुँदै चुरे सम्मको क्षेत्रमा शाही, मध्य भागको भजनी देखि दरख, साढेपानी हुँदै उत्तरतिर चुरेसम्म मलवारा क्षेत्रमा मल्ल, हसुलिया देखि चौमाला हुँदै चुरेसम्म महत्तो र धनगढी देखि गोदावरी हुँदै चुरे सम्म बमलाई हेर्ने जिम्मा दिइएको इतिहास रहेको पत्रकार दुर्गाप्रसाद भण्डारीले बताए ।
मलवारा भजनी क्षेत्रमात्र होइन, यसको क्षेत्र भजनी देखि चुरे क्षेत्रको पण्डौन सम्म भएको बताउदै उनले मल्लहरुको क्षेत्र भएकाले मल्लबाडा’ हुँदै थारु भाषामा ‘मलवारा’ भएको र यसैलाई नेपालीमा पछि मलवार भनिएको जानकारी गराए । त्यसबेला कुनै राज्यबाट कसैमाथि सजाय दिइँदा कालापानी पठाउने गरिने र त्यसैको सिकार हेमेन्द्र भारद्धाजका बुवा परेको बताईन्छ । विसं २०१५ सालमा बिपी कोइराला प्रधानमन्त्री हुँदा खटपटले काठमाडौँ छोडेर भजनी पुगेको उनले बताए । विसं २०३८ सालबाट भजनी पहिलेकै स्थितिमा स्थिर रहन नसकेको बताईन्छ ।
त्यसपछि त्यहाँबाट हुँदै आएको अधिकांश कामकाज धनगढी सारिएको बताईन्छ । भजनी भन्दा धनगढी र टीकापुर क्षेत्र विकासको प्राथमिकतामा पर्न थालेको बताउदै उनले हुलाकी राजमार्गलाई भजनीवासीले सम्भावनाको मार्गको रूपमा हेरेको बताए । हुलाकी राजमार्गसँगै जोडिएको भजनी पूर्व–पश्चिम राजमार्गको कैलाली खण्डबाट करिब २५ किलोमिटर दक्षिणमा पर्छ । हुलाकी राजमार्ग वर्खायाममा त्यस क्षेत्रका नागरिकको सुरक्षित रहने आधार बनेको छ ।
बाढी र डुबानको समयमा यसबाट जोगिन विस्थापित परिवार बस्ती भन्दा अग्लो हुलाकी सडकमा आश्रय लिएर बस्ने गरेका छन । सडक नहुँदासम्म वर्षातको समयमा सुरक्षित रहन निकै गाह्रो भएको स्थानीय शम्भु चौधरीले बताए । बाढी आए पछि हुलाकी सडक आश्रय लिन वरदान बनेको उनले बताए । बाढी तथा डुबानका लागि हुलाकी राजमार्ग कारक पनि बनेको उनले बताए । बस्तीबाट निकै माथि उठाइएको हुलाकी सडक भन्दा होचो भूभागमा स्थानीयवसीका घर भएको उनले बताए ।
सडकबाट पानीको निकास नहुँदा डुबानको जोखिम बढ्ने गरेको स्थानीय खेमराज पाण्डेले बताए । हुलाकी सडकले सञ्जालमा भजनीलाई जोड्ने काम हुँदा भजनी क्षेत्रको विकासको आयाममा इट्टा हुलाकी सडकले थपेको बताए । सडक भन्दा गहिरो भागमा पहिले देखि नै बस्ती हुँदा सडककै कारण सहज रूपमा पानीको निकास हुन नपाएर डुबानको जोखिम विकराल हुने गरेको उनले बताए । खेतीयोग्य उर्बर भूमि भएको बताउदै उनले सत्र हजार छ सय २५ हेक्टरमा फैलिएको भजनीमा आठ हजार नौ सय १४ हेक्टर खेतीयोग्य जमीन भएको उनले बताए ।
त्यहाँको करिब ८० प्रतिशत जनसङ्ख्या कृषि पेशामा आबद्ध रहेको भजनी नगरपालिकाको तथ्याङ्कमा उल्लेख छ । नगरपालिकाका कृषि शाखा प्रमुख सुशोभन अधिकारीले आठ हजार दुई सय ८० हेक्टरमा खेती गरिँदै आएको बताए । छ हजार नौ सय १५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको र चार हजार दुई सय ४० हेक्टरमा वर्षभरि सिँचाइ सुविधा भएको उनले बताए । भजनी नगर क्षेत्रमा पाँच हजार नौ सय तीन हेक्टर क्षेत्र जङ्गलले ओगटेको उनले बताए ।
पर्यटन तथा पर्यावरणीय दृष्टिले भजनीको महत्त्व रहेको उनले बताए । ‘बर्का बनुवा’ (ठूलो वन) मार्गको रूपमा चिनिने बताउदै उनले पाँच कोसीय वन यसै क्षेत्रमा पर्ने बताए । सीमापारी भारतको दुधुवा राष्ट्रिय निकुञ्ज देखि चुरे क्षेत्र सहित बर्दिया राष्ट्रिय निकुञ्ज सम्म जोड्ने मार्गको रूपमा यस क्षेत्रलाई हेरिने गरिएको संरक्षणकर्मी विजयराज श्रेष्ठले बताए । भजनी क्षेत्र दुर्लभ संरक्षित चराचुरुङ्गीको प्राकृतिक वासस्थानका रूपमा रहेको उनले बताए ।
यहाँ सारस, घुडिफोर, खर मजुर, राजधनेष जस्ता चराचुरुङ्गी पाइने उनले बताए । बाहिरबाट बसाइँ सरेर आउने साइबेरियन चराहरू भजनी क्षेत्रमा आउने गरेको उनले बताए । विश्वकै दुर्लभ जलचर प्राणी डल्फिनलाई यसै क्षेत्रका नदीमा अवलोकन गर्न पाइने उनले बताए । डल्फिनसँगै घडियाल, मगर गोही, पानीमा बस्ने ओद, पाटेबाघ, अजिङ्गर सहित जङ्गली हात्तीले बच्चा जन्माएको इतिहास पनि यस क्षेत्रसँग रहेको श्रेष्ठले बताए ।
थुप्रै सामुदायिक र निजीवन पनि रहेको उनले बताए । आधा नेपालमा र आधा भारतको भूमिमा पर्ने बञ्जरिया नाम गरेको ताल भजनी क्षेत्रमै पर्छ । पर्यटकीय सम्भावना र जैविक विविधताका दृष्टिकोणले भजनी क्षेत्र सम्पन्न भएको श्रेष्ठले बताए । यहाँको विविधतालाई विशेषतामा परिणत गर्नसके धेरै ठूलो सम्भावना रहेको उनले बताए ।
बर्दिया र चितवन राष्ट्रिय निकुञ्जमा पुगेका विदेशी पर्यटक भजनी सर्किट सम्म आउने गरेको पाइएको उनले बताए । जीवजन्तु संरक्षणका लागि विगतमा गुलेली सङ्कलनको अभियान भजनी क्षेत्रबाटै सुरु गरिएको उनले बताए ।
संरक्षणको क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका भोजराज श्रेष्ठलाई अभियान पछि गुलेली बाजेको उपनाम पनि दिइएको बताउदै श्रेष्ठले पर्यटन क्षेत्रको प्रचार प्रसार र संरक्षणका क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याएको बताए । लोपोन्मुख जातिको सूचीमा रहेको राजी जातिको बसोबास भजनी क्षेत्रमा भएको उनले बताए । भजनी नगरपालिका वडा नम्बर–९ को भुरुवा गाउँमा राजी जातिको बसोबास रहेको उनले बताए ।